धरानको एजेण्डाः इटहरीको बजार तान्ने, प्रदेशको राजधानी बनाउने



६ असार, धरान । विगतमा सांस्कृतिक एवं व्यापारिक नगरको परिचय बनाएको धरानले नगरपालिकाबाट उपमहानगरमा फड्को मारेसँगै यसका आकांक्षा पनि चुलिएका छन् ।

दोस्रो चरणको स्थानीय चुनावमा भाग लिएका राजनीतिक दलका उम्मेदवारहरुले धरानको नयाँ आवश्यकता र चाहना अनुसार चुनावी एजेण्डा अघि सारेका छन् ।
धरानका प्रमुख दलका सबै उम्मेदवारहरुको साझा निश्कर्ष के छ भने विगतमा रौनक देखिएको धरानको साख क्रमशः गुम्दै गइरहेको छ । र, अब धरानको साख पुनस्र्थापित गर्नुपर्ने खाँचो छ ।

धरानका लागि मुख्य दलका मेयर उम्मेदवारहरुले कस्तो सपना सजाएका छन् त ? अनलाइनखबरले यसबारे खोतल्ने प्रयास गरेको छ । त्रिपक्षीय भिडन्त हुने धरानमा मुख्य तीन दलका मेयरका उम्मेदवारहरुको योजना र प्राथमिकता उनीहरुकै शब्दमाः

 

इटहरीमा सरेको व्यापारलाई धरान फर्काउँछु

तारा सुब्बा, मेयरका उम्मेदवार, नेकपा एमाले

मेरो राजनीतिक जीवन ०३६/३७ सालतिर सुरु भएको हो । माले कालदेखि नै राजनीतिमा क्रियाशील छु । हाल एमालेको धरान नगर कमिटीको अध्यक्ष छु ।
यो स्थानीय चुनावमा धरान उपमहानगरमा जित्ने विश्वाससहित चुनावी मैदानमा होमिएको छु । एमालेले देश र जनताप्रति खेलेको भूमिका नै मेरो जितको बलियो आधार हो ।

एमालेप्रति जनताको विश्वास छ । धरानको विकास-निर्माणमा धेरै अगाडिदेखि हामीले खेलेको भूमिका जगजाहेरै छ । जनतामा एमालेले नै विकास गर्छ भन्ने विश्वास छ ।
व्यक्तिगत रुपमा भन्नुपर्दा म राजनीति गर्ने व्यक्तिका साथै सामाजिक कार्यकर्ता पनि हुँ । अहिलेसम्म कुनै दाग नलागेको व्यक्ति हुँ । जनताले मलाई इमान्दार उम्मेदवार भनेर चिन्छन् ।

धरान उपमहानगरमा मेरो मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुनेछ । सधैं कांग्रेस नै हाम्रो प्रतिस्पर्धी रहने गरेको छ ।

धरान उपमहानगरका समस्या धेरै छन् । ट्राफिक व्यवस्थापनको समस्या बढ्दो छ ।धरान कुनै समय व्यापारिक केन्द्रका रुपमा चिनिए पनि पछिल्लो क्रमिकरुपमा त्यो साख गुमेको छ । इटहरी र अन्य क्षेत्रमा सरेको व्यापारलाई फेरि पुरानै अवस्थामा ल्याउनुछ ।

धरानमा औद्योगिक क्षेत्र छ, तर निकै सानो । हामीले वडा नम्बर ६ मा औद्योगिक क्षेत्र बनाउने भनेर प्रस्ताव गरेका छौं । सबै ठाउँका मानिस धरानमा नपुगी नहुने सभ्य र सुसंस्कृत नगरको विकास गर्न हामी चाहन्छौं । यसका लागि मेयरमा जितेपछि धरानको विकासका लागि मेरा धेरै एजेण्डा छन् ।

मुख्य रुपमा भन्नुपर्दा बसपार्क निर्माण गर्ने, विमानस्थल बनाउने, सभागृहलाई व्यवस्थित गर्ने, सुकुम्बासी समस्या समाधान गर्ने, लामो समयदेखि निर्माणाधीन बहुजातीय संग्रहालयको निर्माण पूरा गर्ने लगायत प्राथमिकता छन् ।

त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गर्न पनि धरान पूर्वाधारयुक्त नै छ । यस्तै, सेउती र सर्दु खोलाको तटबन्धन गर्नु अत्यावश्यक देखेको छु । धरानमा जग्गाको वैज्ञानिक नापी गर्नु पनि अर्को काम हो ।

मेयरमा जित्नेमा म विश्वस्त नै छु । धरानको चुनावी इतिहास हेर्ने हो भने निरन्तररुपमा एमालेले नै झण्डा गाडेको छ । ०४९, ०५४ को स्थानीय निर्वाचन र ०७० सालको दोस्रो संविधानसभा चुनावमा एमालेले नै विजय हात पारेको हो । बीचमा ०६४ सालको संविधानसभा चुनावमा मात्रै हार बेहोर्नुपर्‍यो ।

जनताको विश्वास र साथ पाएकाले धराने जनताले मलाई जिताउनेमा ढुक्क छु ।

 

धरानलाई सांस्कृतिक पहिचानयुक्त शहर बनाउनेछु

तिलक राई, मेयरका उम्मेदवार, नेपाली कांग्रेस

म कांग्रेसको राजनीतिमा साढे दुई दशकदेखि जोडिएको छु । ०४६/०४७ सालको जनआन्दोलनपछि नेविसंघबाट राजनीतिक जीवन थालेको हुँ । अहिले संगठनमा धरान उपमहानगर कार्यसमितिको सभापति छु ।

यो चुनावमा कांग्रेस वैकल्पिक शक्तिका रुपमा अघि बढेको छ । ०४८ सालयता भएको निर्वाचनमा धरान क्षेत्रमा सधैंजसो वामपन्थीहरुले नै जित हासिल गरे । तर, मतदाताले धरानको भौतिक पूर्वाधार, सामाजिक, सांस्कृतिक लगायत सर्वांगीण विकास होला भनेर जुन अपेक्षासहित मतदान गरेका थिए, केही पनि हुन सकेन ।
यो अवस्थामा एउटा वैकल्पिक शक्तिका रुपमा कांग्रेस अगाडि आएको छ । म लामो समयदेखि धरानको सामाजिक गतिविधिमा लाग्दै आएको छु । त्यसबाट जनविश्वास हासिल गरेको छु । त्यो विश्वास नै मेरो जित्ने आधार हो ।

यो स्थानीय चुनावमा धरानमा कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले हो । विगतको निर्वाचनमा एमालेले कांग्रेसलाई प्रायः झिनो मतको अन्तरले हराउने गरेको थियो । यसपालि एमालेको जितको त्यो श्रृंखला तोडिनेछ ।

धरानको विकासका लागि मेरा विविध योजना छन् । बसपार्क, विमानस्थल, सुकुम्बासी समस्या समाधान लगायतका कुरा छन् । यस्तै, खानेपानी समस्या समाधान हुने क्रममा छ । तर, त्यसमा पनि जनताको त्यति विश्वास जाग्न सकेको छैन । जनताको विश्वास लिएर त्यो पनि सम्पन्न गर्नु छ ।

यता धरानको उत्तरी भागमा जलाधार क्षेत्र छ, त्यसको संरक्षण गर्नु छ । धरानको बीच भागबाट राजमार्ग र सहायक राजमार्ग सञ्चालन भइरहेको छ, त्यसलाई पनि बाइपास गरेर शहरको किनारबाट लैजानुपर्नेछ । सेउती र सर्दु खोलालाई नियन्त्रण गरेर कोरिडोर निर्माण गरी त्यहाँबाट पनि बाटोको निकास बनाउनु छ ।

धरान आर्थिकरुपमा अगाडि बढ्न नसकेको शहर हो । यसैले हामीले अब यसलाई फरक पहिचानमा अगाडि बढाउनुपर्ने देखिन्छ । सांस्कृतिक र पर्यटकीय शहरका रुपमा धरानको विकास गर्न सकिए फलदायी हुनेछ ।

सांस्कृतिक शहरको रुपमा धरानलाई अगाडि बढाए यहाँको आदिवासी जनजाति र संस्कार-संस्कृतिको उत्थान हुनेछ । यसका साथै धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउन ध्यान दिनेछु ।

धरानको अर्थतन्त्र पछिल्लो समय वैदेशिक रोजगारीमा निर्भर छ । विदेशबाट आउने रेमिट्यान्सलाई लगानी गरेर सरकार तथा उपमहानगरको साझेदारीमा पुँजीको निर्माण गर्न सकिने सम्भावना छ । यसबाट रोजगारीको पनि व्यवस्था हुन्छ । त्यसतर्फ पनि जनताको समन्वयमा काम गर्नुपर्नेछ ।

जित्नेमा म सय प्रतिशत नै विश्वस्त छु । किनभने म सानै उमेरदेखि सामाजिक कार्यमा लागेको हुँ । विगतमा सुनसरी उद्योग वाणिज्य संघको सदस्य भइसकेको र हाल किराँत राई यायोक्खाको केन्द्रीय अध्यक्ष पनि हुँ ।

यसैले जाति, वर्ग, समुदाय विविध पक्षमा रहेर काम गर्ने क्रममा मैले सबैको मर्म र भावना बुझेको छु । त्यस आधारमा चुनाव जित्छु भन्ने मेरो आँट हो ।

प्रदेशको राजधानी बनाएर धरानको साख फर्काउँछु

अइन्द्र विक्रम बेघा, माओवादी-फोरम गठबन्धन

म स्कूले बेलामै माओवादीनिकट विद्यार्थी संगठनमा लागेको हुँ । विद्यार्थीको इकाई कमिटी हुँदै केन्द्रीय सचिवसम्म भएँ । माओवादी पार्टीको सदस्य हुँदै अहिले माओवादीको केन्द्रीय महाधिवेशन आयोजक कमिटीको सदस्य तथा धरान नगर इञ्चार्ज छु ।

माओवादीको राष्ट्रिय राजनीतिको एजेण्डाका कारणले पनि मैले जित्ने सम्भावना छ । अर्को कुरा, स्थानीय जनतालाई प्रभाव पार्ने माओवादीका स्थानीय एजेण्डाहरु छन् । यी एजेण्डाका कारणले पनि माओवादीले जित्ने आधार देख्छु । तेस्रो कुरा, हाम्रो संगठनात्मक आधार पनि धरानमा बलियो छ । यसले गर्दा हामी जित्छौं ।

धरानमा हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेसँग हुनेछ । दुवै पार्टीको स्थिति उस्तै छ । तर, हामी एक नम्बरमा छौं ।

मेयर जितेपछि मैले अघि बढाउने एजेण्डा थुप्रै छन् । धरानलाई प्रदेश नम्बर १ को राजधानी बनाउने हाम्रो अभियान छ । धरानलाई १० हजार लिटर खानेपानी र १० युनिट विद्युत् निःशुल्क वितरण गर्ने हाम्रो कार्यक्रम छ ।

यस्तै, सुकुम्बासीहरुलाई घर नम्बर दिने र घरजग्गा धनीपूर्जा वितरण गर्ने कुरा छन् । धरानलाई लागूपदार्थ दुर्व्यसनमुक्त शहर बनाउने कार्ययोजना पनि छ । यस्तै, धरानलाई विभिन्न जातिको, विभिन्न भाषाको साझा शहरको रुपमा विकास गर्नका निम्ति एउटा सांस्कृतिक क्यालेण्डर सार्वजनिक गर्ने हाम्रो कार्यक्रम छ । धरानलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने पनि हाम्रो योजना छ । धरानलाई समग्रमा स्मार्ट सिटी बनाउने योजना छ । नगरक्षेत्रमा फ्री वाइफाई जोन बनाइनेछ । धरानलाई खानेपानी समस्याले पनि पिरोलिरहेको छ । यसको समाधान गर्ने योजनालाई हामीले एजेण्डामा समेटेका छौं ।

यस्तै, धरानका सबै सडक पक्की बनाई कच्ची सडकमुक्त शहर घोषणा गर्ने हाम्रो कार्यक्रम छ ।

धरान अहिले असाध्यै अस्तव्यस्त शहर छ । यहाँका अधिकांश संरचना तथा सडक अल्पकालीन हिसाबले निर्माण गरिएका छन् । सबै कुरा दीर्घकालीन खालका बनाएर अगाडि बढ्ने हाम्रो लक्ष्य छ ।

धरान पहिले व्यापारिक शहर थियो । राजनीतिक दलका अघिल्ला नेतृत्वका कारण धरानको सामाजिक लगायत सबै साख गुमेको छ । त्यो साख फर्काउन अब हामी कार्यक्रम र कार्ययोजना बनाएर अघि बढ्नेछौं । धरानलाई व्यापारिक केन्द्रका साथै हामीले अब सांस्कृतिक र धार्मिक केन्द्र पनि बनाउने हो ।

समग्रमा धरानलाई सबै भाषा, धर्म र संस्कृतिको साझा थलोको रुपमा विकास गर्ने हाम्रो योजना छ ।

 

अनलाइन खबरबाट

सम्बन्धित समाचार