बालगृहबाट हराएका बालक तीन महिनापछि भेटिए



संखुवासभाको सदरमुकाम खाँदबारीबाट २६ फागुनमा हराएका दुईजना बालक फेला परेका छन् । उनीहरू बालगृहबाट हराएको एक सय दिनपछि भेटिएका हुन् । फागुन २६ गते दिउँसो बालगृहमा खेलिरहेकै अवस्थामा ११ वर्षीय विक्रम तामाङ र ९ वर्षीय पुजन खड्का बेपत्ता भएका थिए । उनीहरू प्रहरी र स्थानीयको सहयोगमा सोमबार एकै दिन फरक–फरक स्थानमा फेला परेका थिए ।

विक्रम तामाङ मोरङको कोसी हरैँचामा रहेको आफ्नो घरमा आएर प्रहरीलाई खबर गरेका थिए । सँगै हराएका पुजन खड्का जिल्लाको धर्मदेवी नगरपालिकाअन्तर्गत पर्ने केवाखोलानजिकै एक होटेलमा भेटिएका थिए । विक्रम र पुजन करिब तीन महिना होटेलमा भाँडा माझेर सँगै बसेको र केही दिनअघि मात्रै विक्रम त्यहाँबाट कोसी हरैँचा आएका थिए ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखा कार्यालयमा पत्रकार सम्मेलन गरी बालकहरूको बारेमा जानकारी गराइएको थियो ।

विक्रमलाई उनको घरपरिवारको जिम्मा लगाइने र पुजनलाई बालगृहमा पुनः राख्ने माट्सले जनाएको छ । पुजनकी आमा गीता खड्का जेलजीवन बिताइरहेकीले पुजनलाई बालगृहमा नै राखिने भएको छ । विक्रम बेपत्ता अवस्थामा खाँदबारीमा फागुन १ गते भेटिएपछि जिल्ला प्रहरी कार्यालय र सरोकारवालाहरूको सहयोगमा बालगृह माट्स नेपाललाई जिम्मा लगाएको थियो ।

माट्स नेपाल जिल्लामा आपत्कालीन अवस्थामा भेटिएका बालबालिकाको सुरक्षा र बस्नका लागि ट्रान्जिट हाउसको रूपमा  समेत सञ्चालित छ । विक्रमले पुजनलाई बालगृहबाट भगाएर लगेको खुलेको छ ।

सम्बन्धित समाचार