सङ्खुवासभाको ‘कर्णाली’मा पनि चुनावी माहोल बढ्यो




सङ्खुवासभा, जेठ ३० गते । भौगोलिक रुपमा विकट तथा राजनितिक पहुँच कम भएकै कारण सङ्खुवासभाको ‘कर्णाली’ मानिएको शिलिचोङ गाउँपालिकामा पनि पछिल्लो समय चुनावी माहोल बढेको छ । राजनितिक दलका नेताहरु कमै मात्र पुग्ने त्यस क्षेत्रमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै विभिन्न राजनितिक दलका स्थानीय नेताहरु घरदैलो कार्यक्रममा ब्यस्त बनेका छन् ।

चुनावको चटारोमा मात्र गाउँ छिर्ने गरेको आरोप खेप्दै आएका राजनितिक दलका नेता तथा कार्यकर्ताहरु कृषी कार्यमा ब्यस्त नागरिकहरुको मेलोमा नै गएर भोट माग्ने काम गरिरहेका छन् । पहाडी भेगमा अहिले खेतीको सिजन भएकोले मतदाताहरु घरमा नभेटिने भएकोले मेलापातमा नै गएर भेट्नु परेको दलका प्रतिनिधीहरुले बताउने गरेका छन् । ‘घरमा कोही भेटिदैन, साँझ अबेरसम्म बारीमा नै हुन्छन्, हामी जनताको मेलोमा नै गएर भोट माग्दै आएका छौँ’ शिलिचोङ गाउँपालिका प्रमुखको लागि नेपाली कांग्रेसका उमेदवार रामबहादुर कुलुङले भन्नुभयो ।

कतिपय मतदाताहरु घरदेखि टाढा पर्ने अलैँची बगान तिर गईसकेकोले उनीहरुलाई त्यतै भेट्न बाध्यता रहेको माओवादी केन्द्रको तर्फबाट प्रमुख पदको उमेद्वार मञ्जिल कुलुङले बताउनुभयो । विगतको भन्दा यस पटकको निर्वाचन भिन्नै भएकोले पनि जनतालाई सो कुरा बुझाउनकै लागि पनि उनीहरु भएकै ठाउँमा पुग्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

विशेष गरि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा कार्यकर्ताहरु घरदैलो कार्यक्रममा ब्यस्त छन् । सो तीन दलहरु विच तीब्र प्रतिष्पर्धा हुने अनुमान लगाईएको शिलिचोङ गाउँ पालिकामा ‘को भन्दा को कम’ भने झै गरि कार्यकर्ता रिझाउने र आफ्नो पकडमा ल्याउने कृयाकलापमा सक्रिय छन् । युवाहरुलाई पार्टी प्रवेसदेखि बुढाबुढीलाई आफुहरु प्रति आकर्षित बनाउने काममा ब्यस्त छन् । घरदैलो कार्यक्रमको क्रममा स्थानीय स्तरमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले आफुहरुको नेतृत्वमा संविधान जारी भएको विषयलाई मुख्य हतियार बनाउदै आएका छन् ।

त्यस्तै, नेकपा एमालेले सामाजिक सुरक्षा भत्तालाई आफ्नो हतियार बनाएका छन् भने नेकपा माओवादी केन्द्रले लोडसेडिङको न्यूनिकरणलाई हतियार बनाएर गाउँ गाउँमा मत माग्दै हिँडेका छन् । त्यसो त संघिय समाजवादी फोरम र नयाँ शक्ति गठबन्धनले पहिचानको मुद्धा उठाएर मत माग्ने काम गरिरहेका छन् । आदिवासी जनजातीको बाहुल्य भएको त्यस क्षेत्रमा गठबन्धनको ‘हतियार’ले पनि अन्य पार्टीहरुको मत बिगार्ने अनुमान लगाईएको छ । शिलिचोङ गाउँपालिका प्रमुखको लागि नेपाली कांग्रेसले रामबहादुर कुलुङ, नेकपा एमाले दुर्गाकिरण राई र नेकपा माओवादी केन्द्रले मञ्जिल कुलुङलाई उमेदवार बनाएको छ । त्यस्तै, संघिय समाजवादी फोरम र नयाँ शक्तिले तुलाबहादुर कुलुङलाई प्रमुख पदको उमेदवार बनाएको छ ।

सम्बन्धित समाचार