संखुवासभामा टेम्पो सञ्चालनले जनजीवन सहज (भिडियो सहित)



सङ्खुवासभा, साउन ११ गते । हिमाली जिल्ला सङ्खुवासभामा टेम्पो सञ्चालन भएसँगै जनजीवन सहज भएको छ । दुई महिना अघिबाट सञ्चालनमा ल्याईएको टेम्पोले छोटो दुरीका यात्रुहरुलाई सहज भाडा दरले गन्तब्यमा पुराउने भएकोले स्थानीयको जीवन सहज भएको हो ।

जिल्लामा टेम्पो आएपछि अघिल्लो भन्दा सस्तो भाडामा आवतजावत गर्न पाएपछि राहत मिलेको यात्रुहरु बताउछन् । टेम्पो भित्रिनुभन्दा पहिले सवारी साधनलाई तिरेको भन्दा आधा बढी सस्तोमा यात्रा गर्न सकिएको खाँदबारी ३ मानेभञ्ज्याङ्का अनिता राईले बताउनुभयो । खाँदबारी बजारबाट मानेभञ्ज्याङ पुग्न रिजर्भ गर्दा यसअघिका ट्याक्सीले पाँच सय रुपैयाँ लिने गरेको तर टेम्पोले दुई सय पचास रुपैयामा नै पुराउने गरेको उहाँको भनाई छ । ‘यस अघि एक ठाउँबाट अर्को ठाउमा सवारी साधनबाट जान गाडी भरिनु पर्ने, कि त रिजर्भ गरेर जानु पर्ने थियो’, राईले भन्नुभयो ‘अव त रिजर्भ नै गर्नु परेपनि सस्तो मुल्यमा टेम्पो लैजान सकिन्छ ।

एक ठाउँबाट अर्को ठाउँमा थोरै मात्राको सामान ढुवानी गर्न पनि सहज भएको खाँदबारी चार सेकाहाका फुलमती गुरुङ बताउनुहुन्छ । बजार नजिकै गाउँ भएकोले टेम्पोमा राखेर सागसब्जी बेच्न लैजान समेत सहज भएको उहाँको भनाई छ । ‘सेकाहाबाट अढाई सयमा तरकारी सहित बजार पुराईदिन्छ, बेलैमा पुराउने हुँदा विक्रि गर्न पनि सहज हुन्छ’, गुरुङले भन्नुभयो । फोनकै भरमा भनेकै समयमा झट्टै आईपुग्ने भएकोले टेम्पोले धेरैलाई सुविधा पुराएको उहाँको ठहर छ ।

सुरुमा दुई वटा टेम्पो जिल्ला भित्राईएकोमा हाल १२ वटा टेम्पो सञ्चालनमा छ । स्थानीयको माग बढेकोले टेम्पोको संख्या बढाईएको टेम्पो चालक रमेश साप्कोटा बताउनुहुन्छ । अन्य ट्याक्सी भन्दा सस्तो भाडामा यात्रुहरुको ओसार पसार गर्नेभएकोले टेम्पोको माग बढेको चालक साप्कोटाको भनाई छ ।

अन्य सवारी साधनहरु भन्दा टेम्पोले आधा शुल्कमा सेवा दिदै आएको अर्का चालक डिल्लि राई दावी गर्नुहुन्छ । सस्तो भाडामा खाँदबारीदेखि सेकाहा, मानेभञ्याड्ढ, तुम्लिङटार, चैनपुर पुराउदै आएको उहाँले बताउनुभयो । आफुहरुले सवारी भाडामा एकरुपता कायम गरेको समेत उहाँले बताउनुभयो । सङ्गठित भएर टेम्पो सञ्चालन गर्दा सहज हुने भएकोले संगठन दर्ता प्रकृयामा आफुहरु लागेको समेत उहाँले जानकारी दिनुभयो । संघ बनेपछि टेम्पो स्ट्याण्ड, भाडा दर कायम गरिने टेम्पो सञ्चालनकहरुले बताएका छन् ।

भिडियो हेरौं ।

सम्बन्धित समाचार