खाँदबारीमा भुस्या कुकुरको आतंक कहिलेसम्म ?




खाँदबारी । खाँदबारी बजारमा भुस्या कुकुरहरुको चपेटामा खाँदबारी १ स्थीत पानस होटलका ब्यावस्थापक दिपेन्द्र कार्की पर्नुभएको छ । खाँदबारीमा बढ्दो संख्यामा रहेको भुस्या कुकुरले उहाँलाई टोकेर घाईते बनाएको छ ।

उहाँलाई मात्र होईन खाँदबारी १० पिप्लेका मदन खनाल लगायत थुप्रैलाई भुस्या कुकुरले टोकेर घाईते बनाएको छ । साँझ पर्दै गएसँगै सडक र बजारमा मानिसको चहलपहल घट्दै गएपछि भुस्या कुकुरहरु निस्केर एक्लै हिँड्ने बटुवाहरुलाई कुकुरहरुले सामुहिक आक्रमण गर्ने गरेका छन् । साँझ देखि सडकमा निस्कीएको कुकुर बिहान अबेरसम्म सडकै हुने हुँदा मोर्निङ वाकमा निस्कीएका तथा ट्युसन पढ्न जाने विद्यार्थीहरु आतंकित बनेका छन् । खाँदबारीको मुटु मानिने पोखरी बजारदेखि प्रहरी गेटसम्म भुस्या कुकुरहरुले कब्जा जमाएझै गरेर बसेका छन् । त्यस्तै मोटर साईकलमा सवार यात्रुहरुलाई पनि कुकुरले आक्रमण गरेपछि दुर्घटनामा पर्ने गरेका छन् ।

यसरी भुस्या कुकुरको संख्या बढ्दै गएपनि सम्बन्धीत निकाय भने मौन छन् । बाटो हिड्नेहरु पटक पटक कुकुरको आक्रमणमा परेपनि कसैले नसुनेझै गरेर बसेको स्थानीयले आरोप लगाउदै आएका छन् । बजार क्षेत्रमा रहेको भुस्या कुकुरहरुलाई उचित ब्यवस्थापन गर्नु पर्ने कुकुरको टोकाईबाट घाईते भई उपचार गराउदै गर्नुभएका दिपेन्द्र कार्की बताउनुहुन्छ । भुस्या कुकुरहरुलाई बेलैमा ब्यवस्थापन नगरे भुस्या कुकुर समस्याले विकराल रुप लिन सक्ने समेत स्थानीय कार्कीले बताउनुभयो ।

सम्बन्धित समाचार