कुशुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न




संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर १ मा रहेको कुशुवा खोलाको मालबासे झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न भएको छ । तत्कालिन जिल्ला विकास समितिको लगायत अन्य संस्थाहरुको सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।

पुल निर्माणको लागि गैह्र सरकारी संस्था सोडेकको प्राविधीक सहयोगमा तत्कालिन जिल्ला विकास समितिबाट २५ लाख ७२ हजार ३ सय ४० रुपैयाँ ३६ पैसा रकम प्राप्त भएको थियो भने स्थानीयले ६६ हजार ९ सय ८५ रुपैयाँ १७ पैसा बराबरको जनश्रमदान गरेका थिए । त्यस्तै एस.डि.सी. र टि.बि.एस.यू नामक संस्थाबाट तीन लाख ९७ हजार चार सय ५५ रुपैयाँ ६४ पैसाको लगानीमा एक सय पाँच मिटरको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो ।

सो पुल निर्धारित समयभन्दा ढिलो सम्पन्न भएको हो । चैत्र मसान्तसम्ममा निर्माण गरिसक्नु पर्नेे सम्झौता गरिए पनि पाँच महिनापछि गत वर्षको आषाढ १६ गतेबाट निर्माण कार्य सुरु गरिएको थियो । कार्तिकबाट मात्र निर्माण कार्य सुरु गर्नु पर्दा तोकिएको मितिमा निर्माण सम्पन्न गर्न नसकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष युवहाङ लिम्बुले बताए । पुल निर्माण स्थलसम्म पुग्ने सडक बर्षातको समयमा बिग्रिएको र सोको मर्मत पछि मात्र निर्माण सामग्री लैजान सकिएकोले ढिलाई भएको समेत अध्यक्ष लिम्बुले बताए । ‘ढिलै भएपनि निर्माण कार्य सम्पन्न ग¥यौँ, अब आवत जावतमा सहज भएको छ’ लिम्बुले खुशी व्यक्त गरे ।

पुल निर्माण कार्य सम्पन्न भएसँगै घण्टौंको बाटो घुम्नु पर्ने बाध्यताबाट सकिएको स्थानीय बताउछन् । अब सामान ढुवानी तथा आवत जावतमा सहज भएको स्थानीय टंकबहादुर बुढाथोकी बताउछन् । त्यती मात्र नभएर गाईबस्तु चराउन वारी र पारि लैजान पनि सहज भएको अर्का स्थानीय लाखमान तामाङले बताउनुभयो । सो पुलबाट करिब दुई हजार स्थानीय लाभान्वीत हुनेछन् ।

 

सम्बन्धित समाचार