तेईस दिनपछि भोटखोलाको जनप्रतिनिधीको कंकाल भेटियो



सङ्खुवासभा, साउन १९ गते । जिल्लाको भोटखोला गाउँपालिका वडा नं. ५ मा नेपाली कांग्रेसको तर्फबाट निर्विरोध निर्वाचीत दलित उमेद्वारको कंकाल (अस्थीपञ्जर) भेटिएको छ । गत असार २४ गते बेलुकादेखि हराईरहेकी ३८ बर्षीय कमला विश्वकर्माको कंकाल तेईस दिनपछि गत सोमबार अरुण नदि नजिकै भेटिएको हो ।

अरुण नदि र ठगम खोलाको दोभान भन्दा ५० फिट माथी ढुङ्गाको चेपमा मृत्तकको शव सढिसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सढेको शवको छेउमा रहेको स्थानीय सेती काठको रुखको हाँगामा जमिनदेखि अन्दाजी ६ फिट माथी हरियो सल गाँठो परेर चुडिएको अवस्थामा भेटिएको समेत जिल्ला प्रहरी प्रमुख डिएस्पी सन्तोष खड्काले जानकारी गराउनुभयो । शवको अस्थीपञ्जरसँगै चुटिएको सलको भाग र कपाल भेटिएको समेत डिएस्पी खड्काले जानकारी दिनुभयो ।

घटनास्थलमा भेटिएको कंकाल पोष्टमार्टमको लागि विहिबार जिल्ला अस्पताल खाँदबारी ल्याईएको छ । पोष्टमार्टम प्रभावकारी तथा चाँडो रिपोर्ट लिनको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईने नेपाली कांग्रेस सङ्खुवासभाका सभापती दीपनकुमार श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचित भएलगत्तै यस्तो घटना घट्नुले विभिन्न आसंका उत्पन्न भएकोले जती सक्दो चाँडो रिपोर्ट लिन लागिएको सभापती श्रेष्ठले बताउनुभयो ।

सम्बन्धित समाचार