सङ्खुवासभामा ६० प्रतिशत मात्र रोपाई



सङ्खुवासभा, साउन २० गते । आधा साउन समेत सकिन लाग्दा सङ्खुवासभामा ६० प्रतिशत मात्र रोपाई सकिएको छ । सिंचाई अभाव, स्थानीय तहको निर्वाचन लगायतका कारण यस बर्ष रोपाई ढिलो भएको जिल्ला कृषी विकास कार्यालयले जनाएको हो ।

जिल्लाको माथिल्लो भगमा रोपाई सकिएपनि दक्षिणी भेगमा आधा भन्दा बढी रोपाई बाँकी रहेको कृषी प्रसार अधिकृत रामबहादुर ठाकुरले जानकारी दिनुभयो । यस बर्ष पर्याप्त पानी नपर्नु नै रोपाई ढिलो हुनुको प्रमुख कारण रहेको ठाकुरले जानकारी दिनुभयो । त्यस्तै मध्य असारमा स्थानीय तहको निर्वाचन हुनुले पनि रोपाई ढिलो हुन गएको उहाँको भनाई छ । कतिपय ठाउँमा भने तौली धान उठाएपछि रोपाई गर्नु पर्ने भएकोले ढिलो भईरहेको छ । गत बर्ष यतिखेर ८० प्रतिशत रोपाई सकिएको जिल्ला कृषी विकास कार्यालयको तथ्याङ्कमा छ ।

प्रायजसो कृषकले साउन महिनासम्म मात्र रोपाई गर्ने भएकोले यस बर्ष शत प्रतिशत रोपाई हुने सम्भावना कम रहेको कृषी प्रसार अधिकृत रामबहादुर ठाकुरले बताउनुभयो । साउन भित्रमा जम्मा करिब २० प्रतिशत मात्र रोपाई हुने गर्न सकिने भएकोले करिब ८० प्रतिशत मात्र रोपाई हुनसक्ने उहाँको भनाई छ । ‘अब हप्ता दश दिन मात्र साउन छ, पानी परे किसानले रोप्लान नत्र २० प्रतिशत जति त बाँर्झै रहने देखिन्छ’ ठाकुरले भन्नुभयो ।

सङ्खुवासभामा आधा भन्दा बढी रोपाई आकाशे पानीको भरमा गरिने भएपनि यस बर्ष पानी कम परेकोले कतिपय खेतहरु छोड्नु पर्ने उहाँको भनाई छ । सङ्खुवासभामा ३० हजार हेक्टर धान खेत रहेको मध्ये १५ हजार चार सय ३६ हेक्टरमा आकाशे पानीको भरमा रोपाई गरिन्छ भने ९ हजार ३ सय २२ हेक्टर बर्षातको समयमा मात्र र ५ हजार २ सय ४२ हेक्टर बर्षै भरि सिचिंत छ ।

 

सम्बन्धित समाचार