सङ्खुवासभा उद्योग बाणिज्य संघको साधारणसभा सुरु




उद्योग बाणिज्य संघ सङ्खुवासभाको साधारणसभा आजबाट खाँदबारीमा सुरु भएको छ । भोली सम्पन्न हुने साधारणसभाको उद्घाटन आज जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघ सङ्खुवासभाका अध्यक्ष अनन्त गौलीको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा उद्योग बाणिज्य महासंघ केन्द्रीय समितिका पुर्वअध्यक्ष चण्डीराज ढकाल प्रमुख अतिथी रहनुभएको छ । त्यस्तै, महासंघकै केन्द्रीय सदस्य निरज केशी, प्रमुख जिल्ला अधिकारी शिवराज जोशी, खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडा विशिष्ट अतिथी रहनुभएको थियो ।

उद्घाटन कार्यक्रममा कार्यक्रमका अध्यक्ष अनन्त गौलीले स्वागत मन्तब्य ब्यक्त गर्नुहुदै २०४९ सालमा स्थापना भएको संघमा तीन हजार भन्दा बढी सदस्यहरु आबद्ध रहेको जानकारी दिनुभयो । संघले गत आर्थिक बर्षमा २६ लाख ३२ हजार ७ सय पाँच रुपैयाँ आमदामी गरेको र २५ लाख ७२ हजार ८ सय ८२ रुपैयाँ खर्च गरि पाँच लाख ९१ हजार ८ सय २३ रुपैयाँ बैकमा मौज्दान रहेको समेत उहाँले जानकारी दिनुभयो ।

बन ब्यवसायीकरण कसरी गर्न सकिन्छ भन्ने विषयमा बन मन्त्रालयले उद्योग बाणिज्य महासंघलाई २० करोडको योजना दिईसकेको प्रमुख अतिथी रहनुभएको उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीराज ढकालले जानकारी दिनुभयो । विभिन्न परियोजनाको लागि विश्व बैँकले पनि बजेट दिने भएपछि ५० मिलियन डलरको एम् ओ यू भईसकेको र पहिलो चरण अन्तर्गत २५ करोड रुपैयाँ उद्योग बाणिज्य महासंघसँग आईसकेको ढकालले बताउनुभयो । त्यस कार्यक्रमको लागि सङ्खुवासभा सहित पुर्वका १६ वटा जिल्लाहरु परेको समेत ढकालले जानकारी दिनुभयो । उद्योग बाणिज्य संघले किमाथाङ्कामा सुख्खा बन्दरगाहको स्थापना गरि उत्तर दक्षिण ब्यपारको हबको रुपमा विकास गर्ने कुरा उठाउँदै आएको उहाँले जानकारी दिनुभयो । सो को लागि नेपाल उद्योग बाणिज्य महासंघ शसक्त रुपमा लागिपरेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथीको रुपमा उपस्थीत खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले अझ ब्यवस्थीत, सक्षम र अग्रगति दिने खालको कार्यसमिति बनाउन शुभकामना दिनुहुँदै पर्यटनको क्षेत्रमा अत्यन्तै सम्भावना बोकेको सङ्खुवासभामा पर्यटकिय क्षेत्रबाट कसरी आय आर्जन गर्न सकिन्छ सो को बारेमा त्यसको बारेमा कार्य योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनुभयो । सङ्खुवासभामा पाईने जडिबुटीलाई प्रसोधन गरि निकासी गर्न सक्ने उद्योग कसरी विकास गर्न सकिन्छ भन्ने बारेमा उद्योग बाणिज्य संघले ध्यान दिनु पर्ने उहाँको भनाई छ ।

साधारण सभाले भोली नयाँ कार्यसमिति चयन गर्नेछ । यस पटक बाणिज्य संघमा दुई प्यानल बनाएर चुनावि मैदानमा उत्रिने भएका छन् । युवराज शाक्य र सुमन श्रेष्ठको प्यानल चुनावी मैदानमा उत्रिने भएको हो ।

 

सम्बन्धित समाचार