वडामा ५२ लाख विनियोजन गर्ने भएपछि खाँदबारी नपामा लगाएको ताला खुल्यो




संखुवासभा, भदौ ८ गते । खाँदबारी नगरपालिका कार्यालयमा पाँच वडा अध्यक्षहरुले बुधबार लगाएको ताला खुलाईएको छ । नगरपालिकाले थप ३० लाख रुपैयाँ वडालाई विनियोजन गर्ने सहमती भएपछि आज दिउँसो ताला खुलाईएको हो ।

११ वटा वडाहरु रहेको खाँदबारी नगरपालिकाका वडाहरुमा पर्याप्त बजेट नदिएको भन्दै पाँच अध्यक्षहरुले पाँच दिन अघि सुरु गरेको चरणबद्ध आन्दोलनको क्रममा हिजो नगर प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका थिए । माग सम्बोधन नभएसम्मको लागि तालाबन्दी गरिएपछि आज नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलहरु र जनप्रीतनिधीहरुको छलफल पछि थप ३० लाख रुपैयाँ बिनियोजन गर्ने सहमति भएको थियो । यस अघि २२ लाख मात्र बिनियोजन गरिएको थियो । वडाअध्यक्षहरुको आन्दोलन राजनितिकरण भएपछि दलहरु समेत बसेर अन्तिम निर्णय गरेका हुन् ।

दलहरुको वार्ता सकरात्मक रहेको र आफुहरुको माग पुरा भएको जनप्रतिनिधीहरुले जनाएका छन् । नगरप्रमुखले हचुवाको भरमा थोरै बजेट विनियोजन गरेको तर आन्दोलनपछि केही हदसम्म भएपनि माग पुरा भएको खाँदबारी नगरपालिका १ का अध्यक्ष निरञ्जन श्रेष्ठले बताउनुभयो । ‘हुन त हामीले एक करोड माग गरेका हौँ, वार्तापछि माग गरिएको रकमको आधा मात्र दिने हुँदा पनि माग पुरा भएकै मानेका छौँ’, श्रेष्ठले भन्नुभयो ।

वडा अध्यक्षहरुले आन्दोलनको पहिलो दिन नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । दोश्रो दिन कालो पट्टी बाँधेर काम गरेका थिए भने तेश्रो दिन रिले अन्सन बसेका थिए । आन्दोलनको चौँथो दिन हिजो तालाबन्दी गरेका थिए । साँझ बन्दकर्ताहरु घर फर्किएपछि प्रहरीले तालो खोलेको थियो । आन्दोलनकारीहरुले फेरी आज बिहान अर्को ताला लगाएका थिए ।

सम्बन्धित समाचार