मनकामना क्षेत्रबाट अबैध गिटी बालुवा निकासी बढ्दो




सङ्खुवासभा, भदौ १९ गते । अरुण नदि किनारमा अवस्थित मनकामना मन्दिर क्षेत्रबाट ढुङ्गा, बालुवा र गिटी चोरी निकासी बढेको छ । मन्दिर क्षेत्रबाट उक्त बस्तुहरुको निकासीमा प्रतिबन्द लगाएको भए पनि पछिल्लो समय चोरी निकासी बढ्दै गएको हो ।

तत्कालिन जिल्ला विकास समितिले खाँदबारी नगरपालिका ९ मा पर्ने मनकामना मन्दिर क्षेत्र, सतिघाटको झोलुङ्गे पुलदेखि दुई सय मिटर उत्तर तथा दक्षिण तर्फको बगरबाट ढुङ्गा, गिटी र बालुवा निकासी प्रतिबन्ध लगाएको थियो । सो बस्तुहरु निकासी गर्दा त्यस क्षेत्रका भौतिक संरचनामा असर तथा धार्मिक क्षेत्रको सौँदर्यमा खलल पुग्ने भन्दै प्रतिबन्ध लगाएपनि जिल्लाका केही निर्माण ब्यवसायीहरुले निकासी गर्दै आएका हुन् । हाल विहान वेलुकाको समयमा खुलेआम ट्याक्टर मार्फत बालुवा तथा ढुंगा निकाल्न थालिएको मनकामना स्थीत श्री हरी आध्यत्मिक गुरुकुलका संस्थापक अध्यक्ष लक्ष्मण पोख्रेलले जानकारी दिनुभयो । ढुङ्गा बालुवाको निकासी बढेपछि मन्दिर संरक्षण समितले ननिकाल्न आग्रह गर्दा समेत बेवास्ता गरेका पोख्रेलको भनाई छ ।

यसरी नै मन्दिर क्षेत्रबाट ढुङ्गा बालुवा नकालेपछि मन्दिर पट्टीको भाग गहिरिने र त्यसपछि मन्दिर क्षेत्रमा पानी पस्न सक्ने स्थानीय भोलामान खत्रीको भनाई छ । निषेधित बस्तुहरु निकालिएपछि ऐतिहासिक धार्मीक क्षेत्रमा बाढी पसेपछि संरक्षित क्षेत्रको सौँदर्य गुम्ने भएकोले निकासी कार्य तत्काल बन्द गर्नुपर्ने समेत उहाँको भनाई छ । लामो समयदेखि निरन्तर ढुङ्गा गिटी र बालुवा निकालिदै आएपनि सम्बन्धीत निकायले रोकथाम सम्बन्धी चासो नदिएको खत्रीको आरोप छ ।

निषेधित क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा निकासी भईरहेको बारे भर्खरै मात्र जानकारी प्राप्त भएकोले अब तत्काल रोक्ने जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । भखैरै मात्र आफु निर्वाचित भएर आएपछि कुनै उजुरी नआएपनि विभिन्न माध्ययमबाट अबैध निकासी भईरहेको जानकारी आएकोले निषेधित क्षेत्रको अनुगमन गरि तत्काल रोकिने उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार