भोट माग्दै घरदैलामा सङ्खुवासभाका उमेद्वार




सङ्खुवासभा, कातिक २१ गते । प्रतिनिधी र प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा सङ्खुवासभाका राजनितिक दलहरु चुवानी अभियानलाई तिब्रता दिन थालेका छन् । जिल्लाका दलहरु आफ्नो पक्षमा मतदान गर्न अनुरोध गर्दै जनताको घरदैलोमा पुगेर मत माग्न थालेका हुन् ।

विशेष गरि सङ्खुवासभामा बाम गठबन्धन र नेपाली कांग्रेसले घरदैलो अभियान सञ्चालन गर्दै आएका छन् । दश स्थानीय तह रहेको जिल्लामा को भन्दा को कम झै गरेर दुवै सङ्गठनका नेताहरु जनताको घरमा पुगेर मत माग्दै आएका छन् । नेपाली कांग्रेसले चिनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिकाबाट घरदैलो कार्यक्रम सुरु गरि अन्य स्थानीय तहहरुमा समेत पहिलो चरणको कार्यक्रम सम्पन्न गरेका नेपाली कांग्रेस सङ्खुवासभाले जनाएको छ ।

भोटखोलासँगै शिलिचोङ, चिचिला, सभापोखरी र मकालु गाउँपालिकामा पनि पहिलो चरणको घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको बताएका छन् । हाल चैनपुर, धर्मदेवी, मादी र पाँचखपन नगरपालिकामा घरदैलो कार्यक्रम भईरहेको नेपाली कांग्रेस सङ्खुवासभाका सभापती दीपनकुमार श्रेष्ठले जानकारी दिनुभयो । घरदैलो अभियानमा प्रतिनिधी सभाका उमेद्वार दीपक खड्का, प्रदेश सभा (क) का उमेदवार टंकप्रसाद राई र (ख) का उमेदवार दिपककुमार लिम्बुको अनिवार्य उपस्थिती रहेको समेत श्रेष्ठले बताउनुभयो ।

यता बाम गठबन्धनले पनि दश वटै स्थानीय तहमा पहिलो चरणको घरदैलो तथा आमसभाको कार्यक्रम सम्पन्न गर्न लागेको बताएका छन् । जिल्लाका दुर्गम गाउँहरुबाट घरदैलो अभियान सुरु गरेर हाल खाँदबारी र चैनपुरमा घरदैलो कार्यक्रम भईरहेको बाम गठबन्धन अन्तर्गत नेकपा एमाले सङ्खुवासभाका अध्यक्ष हेमराज खड्काले जानकारी दिनुभयो । गठबन्धन अन्तर्गत नेकपा एमालेको तर्फबाट प्रतिनिधी सभाका उमेद्वार राजेन्द्र गौतम, प्रदेश सभा (क) को लागि नेकपा माओवादी केन्द्रका पुर्णप्रसाद राई र (ख) को लागि नेकपा एमालेका तुलसी गौतम घरदैलो दौडाहामा छन् ।

जिल्लामा अन्य साना दलहरु पनि घरदैलो कार्यक्रममा जुटेका छन् । अन्य दलहरु जस्तो तडक भडकका साथ घरदैलो कार्यक्रम नगरेकोले चुपचाप जस्तो देखिएको नयाँशक्ति पार्टीको तर्फबाट प्रदेश सभा (क) का उमेदवार अदलकुमार कुलुङले बताउनुभयो । थोरै नेता कार्यकर्ताका साथ मतदाताको घरमा पुगेर आफुहरुको पक्षमा मत माग्दै आएको उहाँले स्पष्ट पार्नुभयो । पहिलो चरणको घरदैलो कार्यक्रम सकिदै गर्दा जिल्लाका सवै उमेदवारहरुले आफ्नो जित सुनिस्चीत रहेको दावी गर्दै आएका छन् ।

प्रतिनिधी सभाको लागि एक र प्रदेश सभाको लागि २ निर्वाचन क्षेत्र रहेको सङ्खुवासभामा नेपाली काँग्रेस र बाम गठबन्धन सहित १० दल चुनावी मैदानमा छन् । १ लाख ५ हजार ८५ मतदाता रहेको यस जिल्लामा १ सय ३ मतदान स्थल र १ सय ५३ मतदान केन्द्र रहेको छ ।

 

सम्बन्धित समाचार