सोलुखुम्बुको बुङमा फैलिएको भाइरल नियन्त्रणमा



सोलुखु्म्बु, माघ ६ – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर –२ बुङमा फैलिएको भाइरल नियन्त्रणमा आएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका डाक्टर मिङ्मार छिरीङ शेर्पाले ९० प्रतिशत भाइरल नियन्त्रणमा आएको भन्दै चिन्तित नहुन आग्रह गर्नुभएको छ । उहाँले एक हप्ता भित्र ल्याव टेष्टको रिपोर्ट आउने भन्दै भाइरसको विषयमा पत्ता लाग्ने बताउनुभयो । शुक्रबार स्याम्पल कलेक्सन गरेर परीक्षणका लागि शनिबार काठमाडौं पठाइएको छ ।

बालबालिका र अभिभावक गरी झण्डै साढे पाँचसय जना भाइरलबाट प्रभावित भएकोमा एक हप्ता भित्रमा ५ सय ४ जनाको उपचार गरिएको प्राथमिक स्वास्थ्य केन्द्र सोलुखुम्बुका डाक्टर सन्डु शेर्पाले बताउनुभयो । एक सातादेखि उपचारमा सक्रिय रहेका स्वास्थ्य कर्मीले अहिले विरामीको अवस्थामा सुधार हुँदै गएको जानकारी दिनुभयो ।

भाइरलका कारण उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडा तथा वान्ता हुने, टाउको दुख्नेलगायतका लक्षण देखिएर धेरै जना एकसाथ विरामी परेका थिए । भाइरलका कारण मंगलबारदेखि ६ गते सम्मका लागि बन्द गरिएको पेल्माङ आधारभुत विद्यालय अझै केहि दिनसम्म बन्द गरिने विद्यालयका प्रधानाध्यापक टंकबहादुर दाहालले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार