खाँदबारी कारागारमा निर्मित बस्तुहरुले बजार पाएन




सङ्खुवासभा, माघ १० गते । खाँदबारी कारागारका कैदीबन्दीहरुले उत्पादन गरेको सामानहरुले बजार नपाएपछि विक्रि गर्न सकेका छैनन् । कारागार भित्र प्रसस्त मात्रामा सामानहरु उत्पादन गरिए पनि बजारमा लगेर विक्री गरिदिने नभएपछि सामानहरु थुप्रिएका हुन् ।

कारागार भित्र ३५ जनाले मुडा, टोपी, घरेलु साडी, जाल, नाम्लो लगायतका सामानहरु उत्पादन गर्छन् । तर उत्पादित बस्तुहरु विक्रि गर्न कारागारको ढोका बाहेक अन्यत्र लगेर विक्री गर्न सकेका छैनन् । उत्पादित सामानहरु एक जनाले सङ्कलन गरेर गेटबाट नै विक्रि गर्नको लागि राख्दै आएका छन् । तर, ठुलो मात्रामा उत्पादन गरिएको सामान गेटबाटै विक्री गरिसक्ने सम्भावना नरहेको सङ्कलक बुद्धिमान नेपाली बताउनुहुन्छ ।

सङ्कलन गरेको सामानहरु वापत उत्पादकहरुलाई ठुलो रकम दिनु पर्ने तर विक्रि भने थोरै हुने नेपालीले दुखेसो पोखाउनुभयो । उत्पादन गरिएको सामग्रीहरु विक्रि गर्न नसक्दा थुपारेर राख्नुपर्ने बाध्यता रहेको उहाँका भनाई छ । ‘उत्पादकहरुलाई सामानको पैसा दिनै पर्यो, वेचेर साध्य छैन, बाहीरबाट पैसा मगाएर उत्पादकहरुलाई दिदैछु’, सामग्री सङ्कलक नेपालीले भन्नुभयो ।

कारागारमा उत्पादन गरिएको सामानहरु कोही ब्यापारीले लगेर बोचिदिए राम्रो मुल्य पाउने कारागारका सामान उत्पादकहरु पनि बताउछन् । कुनै ब्यक्ति तथा संघसंस्थाले उत्पादित सामानहरु लगेर बेचिदिए उनीहरु र आफुहरुलाई पनि राम्रो हुने ढाका उत्पादक शुक्र तामाङ बताउनुहुन्छ । कोही कसैले सामान बजारमा लगेर बिचिदिए राम्रो हुने उहाँको पनि भनाई छ ।

कारागारको क्षमता बढाएसँगै फराकिलो ठाउँ भएपछि उत्पादनको परिमाण पनि बढेको कारागारका जेलर विनोद अधिकारीले बताउनुभयो । यस भन्दा अघि स्थानीय ब्यापारीहरुसँग कुरा गरेर केही सामानहरु विक्रि गर्न पठाईएको बताउनुहुँदै अब थप के गर्न सकिन्छ सो को बारेमा पहल गर्ने अधिकारीको भनाई छ । कोही ब्यापारिहरुले नै कारागारबाटै सङ्खलन गरेर लगे अझ उत्पादन बढ्न सक्ने समेत अधिकारीले बताउनुभयो । ‘खासै विक्रि हुदैन भन्दै कैदीबन्दीहरुले उत्पादनमा कम चासो दिएका छन्, विक्रि हुने निश्चित भए उत्पादन बढ्छ’, अधिकारीले भन्नुभयो ।

खाँदबारी कारागारमा अहिले ७ महिला र ९७ पुरुष गरि १ सय ४ जना कैदिबन्दीहरु छन् । उनीहरु मध्ये अधिकांस केही न केही उत्पादन मुलक कार्यमा ब्यस्त छन् भने कोही सिक्ने क्रममा छन् । सुधार गृहको रुपमा लिईएको कारागारमा उत्पादन गरिएको सामग्रीहरुलाई उचित बजार ब्यवस्थापन गर्न सके राम्रो अर्थोपाजन हुन सक्ने देखिएको छ ।

सम्बन्धित समाचार