सङ्खुवासभामा सुन्तला उत्पादन घट्यो, मुल्य बढ्यो



सुन्तला टिप्दै खाँदबारी ४ पाङ्माका कृषकहरु । तस्विर सौजन्यः सन्तोष राई

सङ्खुवासभा, माघ १० गते । गत बर्षको तुलनामा यस बर्ष सङ्खुवासभामा सुन्तला उत्पादन घटेको छ । उत्पादन घटेसँग सुन्तलाको मुल्यमा दोब्बर बृद्धि भएको छ ।

अघिल्लो बर्ष यतिबेला प्रतिकेजी ७० देखि ८० रुपैयाँमा बिक्रि हुँदै आएको सुन्तला यसबर्ष १ सय ५० रुपैयाँ सम्ममा बिक्रि भैरहेको छ । सुन्तलाको उत्पादन घटेकै कारण यस बर्ष मुल्य बढेको उत्पादकहरु बताउछन् । सुन्तलाको फुल फुल्ने बेलामा अत्याधिक हावा हुरी चलेको कारण यस बर्ष राम्रो फल लाग्न नसकेको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ । ठुलो हुरी चल्दा सुन्तलाको फुल झर्ने हुँदा राम्रो फल लाग्न नसकेको जिल्ला कृषी विकास कार्यालय सङ्खुवासभाका बाली विकास अधिकृत रामबहादुर ठाकुरले बताउनुभयो ।

सुन्तलाको उत्पादन घटेपपनि मुल्य बढ्ेकोले कृषकहरुमा त्यति ठुलो मार नपरेको कृषकहरु बताउछन् । सुन्तलाको लागि प्रख्यात मानिने खाँदबारी ४ पाङ्माका कृषक प्रमोद राईले सुन्तला खेतीबाट बार्षीक ३ लाख बढिको कारोबार गर्दै आएको र यस बर्ष पनि करिव सोही मुल्य बराबरको कारोबार भएको बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कमा गत बर्ष पाँच हजार ३ सय १० मेट्रिकटन उत्पादन भएकोमा यस बर्ष तीन हजार ८ सय मेट्रीकटन मात्र फलेको पाईएको छ । रोग, किराको प्रकोप र असिना पानीका कारण पनि यस बर्ष सुन्तला उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय सङ्खुवासभाका बरिष्ठ कृषि विकास अधिकृत रविलाल सर्माले जानकारी दिनुभयो ।

सङ्खुवासभामा पाङ्मा, चैनपुर, लेगुवा, मादी रामबेनी, माङ्तेवा, सिशुवाटार लगायतका क्षेत्रहरु सुन्तला उत्पादनको लागि प्रख्यात मानिन्छ । यहाँ उत्पादन गरिएको सुन्तला स्थानीय बजार लगायत भोजपुर र धनकुटा जिल्लाका विभिन्न बजारमा पनि विक्री गरिन्छ ।

सम्बन्धित समाचार