तुँवालोको कारण चार दिनदेखि तुम्लिङटार उडान अवरुद्ध



फाईल फोटो ।

सङ्खुवासभा, माघ १७ गते । सङ्खुवासभाको अरुण किनारमा रहेको तुम्लिङटार विमानस्थललाई तुवालोले ढाकेपछि चार दिनदेखि उडान अवरुद्ध भएको छ । उडानका लागि ‘भिजिबिलिटी’ कम भएपछि दैनिक उडानहरु रद्ध हुँदै आएको तुम्लिङटार विमानस्थलले जनाएको छ ।

उडान नभएपछि जहाजबाट काठ्माण्डौ तथा विराटनगर जाने यात्रुहरु अलपत्र परेका छन् । जहाजबाट उडान भर्न लागेका कोही यात्रु सडक मार्गबाट गन्तब्यमा पुग्ने गरेका छन् भने कोही विमानस्थल खुल्ने दिन पर्खेर बसेका छन् । सडक मार्ग असुरक्षित हुने भन्दै हवाई उडानको लागि हप्तौ अघि टिकट बुकिङ् गरेर बसेका यात्रुहरुले अहिले धुलाम्य बाटोको यात्रा गर्नु परेको छ । हवाई सुविधा नभएपछि बढि जसो बिरामीहरु त्यसको मारमा परेका छन् । कच्ची बाटोमा लामो यात्रा गर्नु पर्ने विरामीको स्वास्थ्य अवस्था झन विग्रिने स्वास्थ्यकर्मीहरु बताउछन् ।

विमान स्थललाई ढाकेको तुँवालो हटेपछि मात्र उडान भर्न सकिने तुम्लिङटार विमान स्थलका प्रमुख रमेश महतले बताउनुभयो । तुँवालो हट्नको लागि कि त पानी पर्नु पर्ने कि त ठुलो हावा चल्नु पर्ने उहाँको भनाई छ । पानी पर्नु वा ठुलो हावा चल्नु प्राकृतिक विषय भएकोले कहिलेबाट उडान सुचारु हुने हो भन्न नसकिने महतले भन्नुयभो । सङ्खुवासभामा महिनौंदेखि पानी परेको छैन । केही समय पानी पर्ला जस्तो भएपनि ठुलो मात्रामा पर्न सकेको छैन ।

तुम्लिङटार विमानस्थलबाट मकालु लगायतका अन्य हिमाल चड्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु लगायत भोजपुर र सङ्खुवासभाका नागरिकहरु आवतजावत गर्ने गर्छन् । यहाँबाट बुद्ध, यति र सिता एयरले दैनिक एक–एक उडान भर्दै आएको छ । बुद्ध एयरले आईतबार र बुधबार दुई दिन बिराटनगर पनि उडान गर्ने गरेको छ ।

सम्बन्धित समाचार