शिक्षक महासंघ सङ्खुवासभाको अधिवेसन स्थगित



सङ्खुवासभा, माघ १९ गते । माघ २० र २१ गते हुने भनिएको शिक्षक महासंघ सङ्खुवासभाको अधिवेसन स्थगन भएको छ । पद बाँडफाँड र सहभागिताको विषयमा पेशागत संस्थाहरुविच कुरा नमिलेपछि जिल्ला अधिवेसन स्थगन भएको हो ।

स्थानीय तहहरुमा पनि शिक्षक महासंघ बनाउनु पर्ने, जसमा कुन तहमा कस्ले नेतृत्व गर्ने भन्ने लगायतका प्राविधिक विषयहरुमा सहमति हुन नसकेपछि अधिवेसन रोकिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष गोविन्दमान तामाङले बताउनुभयो । सवै पेशागत संस्थाहरु विच समान अस्तित्व तथा समान सहभागिताको विषयमा सहमति हुन नसकेपछि अधिवेसन रोकिएको नेपाल शिक्षक संघका अध्यक्ष थीरबहादुर राईले जानकारी दिनुभयो । अधिवेसन गराउने विषयमा थप छलफल र वार्ता भईरहेको समेत राईले जानकारी दिनुभयो ।

शिक्षक महासंघ सङ्खुवासभामा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गरि चार संगठनहरुको आबद्धता रहेको छ ।

सम्बन्धित समाचार