सिलिचोङ गाउँपालिकामा ठेक्का प्रकृया रोक्दै समिति मार्फत विकासे आयोजना



सिलिचोङ गाउँपालिका जाने डुम्मा भिरको बाटो । फाईल फोटो ।

सङ्खुवासभा, चैत १ गते । जिल्लाको शिलिचोङ गाउँपालिकाले ठेक्का प्रकृयालाई खारेज गर्दै उपभोक्ता समिति मार्फत विकास निर्माण तथा भौतिक योजनाका कार्यहरु सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले निर्माण कार्यविधी बनाएर उपभोक्ता समिति मार्फत विकासे कार्यहरु गर्ने निर्णय गरेको हो ।

ठुलो बजेटको आयोजनाहरु सम्पन्न गर्न निर्माण कम्पनी मार्फत नै गर्नु पर्ने प्रावधान रहेपनि त्यस्तो ठुलो लागतको आयोजनाहरुलाई खण्ड खण्डमा विभाजन गरि निर्माणको कार्य सम्पन्न गर्ने कार्यविधीमा ब्यवस्था गरेका छन् । त्यही अनुसार दुई करोड लागतको बुम्लीङटारदेखि गाउँपालिका कार्यालयसम्म जोड्ने सडकको स्तर उन्नतीको आयोजना पनि निर्माण समिति मार्फत नै सुरु गरेका छन् । निर्माण समिति मार्फत एक करोड भन्दा बढी लागतको निर्माण कार्य गर्न नपाएने भएकोले सो मर्मत कार्यलाई तीन भागमा विभाजन गरेर कार्य सुरु गरिएको शिलिचोङ गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिनुभयो ।

उक्त आयोजना यसअघि ठेक्का प्रणालीबाट सम्पन्न गरिने भन्दै बोलपत्र आव्हान गरिएको थियो । आव्हान गरिएको बोलपत्रमा २७ निर्माण ब्यावसायीहरुले फारम खरिद गरिसकेका थिए । तर पछि गाउँ कार्यपालिकाको बैठकले निर्माण कार्यविधी नबनिसकेको भन्दै ठेक्का प्रकृया रोकेको थियो । अन्ततः ठुला आयोजनाहरु पनि निर्माण समिति मार्फत सम्पन्न गर्ने ब्यवस्था सहितको कार्यविधी पास गराएर काम थालनी गरेका छन् । निर्माण ब्यवसायीहरुले खरिद गरेको बोलपत्र वापतको रकम फिर्ता गरिने समेत अध्यक्ष कुलुङले जानकारी दिनुभयो ।

स्थानीय नागरिकहरुबाटै समिति गठन गरेर काम गरे उनीहरुलाई अपनत्व हुने र स्थानीय जनशक्तिको पनि पर्याप्त प्रयोग हुने भएकोले यस्तो ब्यवस्था गरिएको अध्यक्ष कुलुङले स्पष्ट पार्नुभयो । ठेक्का प्रणालीबाट काम गर्दा प्रकृया झण्झटिलो हुने र निर्धारित समयमा काम सम्पन्न नहुने भएकोले पनि निर्माण समितिबाटै योजना सम्पन्न गर्ने ब्यवस्था गरिएको उहाँले बताउनुभयो । ‘जिल्लामा अहिलेसम्म कुनै पनि आयोजना भनेको समयमा सम्पन्न भएको रेकर्ड देखेका छैनौं, अध्यक्ष कुलुङले भन्नुभयो, ‘समिति बनाएर काम गरे ठेक्का प्रणाली भन्दा अघि नै सम्पन्न हुने देखियो ।’ ठुलो बजेटको आयोजना पनि खण्ड खण्डमा विभाजन गरेर एकैसाथ काम गरे छोटो समयमा धेरै काम हुने उहाँको दावी छ । समितिबाटै काम गरेपनि निर्माण सामग्री भने निर्माण ब्यावसायीहरुकै प्रयोग गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।

शिलिचोङ गाउँपालिका जिल्लाकै अत्यन्त दुर्गम र विकट भएकोले तिव्र गतिमा विकास गर्नु पर्ने बाध्यता रहेकोले यस्तो रचनात्मक उपाय अपनाउनु परेको कुलुङले बताउनुभयो ।

सम्बन्धित समाचार