पहिचान खोज्दै पाथीभरा



संखुवासभा, चैत्र ५ । पाथिभरा संखुवासभाको प्रमुख धार्मिक स्थलहरु मध्ये एक हो । धर्मदेवी नगरपालिका १ मा पर्ने पाथिभरा देवीको मन्दीर र त्यहाँको भूमी विवादित बन्दै आएको छ । पाथिभराको मन्दिर निर्माण गरिएको भूमी संखुवासभाको रहेको बताइएको छ भने तेह्रथुमले आफ्नो भूमी दाबी गर्दै मन्दिर लगायतका भौतिक संरचनाहरु निर्माण गरिरहेको छ ।

तेह्रथुमले भूमी प्रयोग गर्दै २०५३ सालमा मन्दीर निर्माण गरेको थियो । त्यस यता तेह्रथुमले नै नेपाल टेलिभिजनको रिपिटर टावर लगायत हालै सोही क्षेत्रमा भ्यू टावर निर्माण गरिरहेको छ । तर संखुवासभाले भने आफ्नो भूमिमा बिना जानकारी भौतिक संरचना निर्माण गरेको भन्दै आपत्ति जनाउँदै आएको छ । गत माघमा धर्मदेवी नगरपालिका, प्रदेश सांसद पदम कुमारी गुरुङ र उक्त क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुले भ्यू टावर र पदमार्ग निर्माण कार्यमा रोक लगाएको छ । पर्यटन मन्त्रालयलाई झुक्याएर तेह्रथुमको लाली गुराँस नगरपालिकाले योजना ल्याएको धर्मदेवीले आरोप लगाएको छ । संखुवासभाको भूमिलाई तेह्रथुमले आफ्नो बनाएर मन्त्रालय मार्फत योजना पारेपछि भौतिक निर्माण सुरु गरेको थियो ।

पर्यटन मन्त्रालयसंग नगरपालिकाले उक्त स्थान तेह्रथुमको लालीगुराँस १ मा पर्ने उल्लेख गरेर २ करोडको योजना ल्याएको थियो । पाथीभरामा ५ तले भ्यू टावर र आन्तरिक तथा बाह्य पर्यटकका लागि सहज पार्न पदमार्ग निर्माण भइरहेको थियो । जिल्लाको सीमाविवाद नमिलेसम्म काम गर्न नदिने धर्मदेवीका प्रमुख रमेश जिमी बताउछन् । उनले मन्त्रालयलाई झुक्याएर बजेट ल्याएको आरोप लगाएका छन् । सहमति नहुँन्जेल निर्माणमा अवरोध गर्छाै, उनले भने, जिल्लाको सीमा विवाद कायम भएपछि मात्रै काम सुरु हुनेछ । संखुवासभाको भूभागलाई तेह्रथुमले मिचेको आरोप उनीहरुको छ ।

यसअघि ताप्लेजुङ, संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने तीनजुरे–मिल्के–जलजले पर्यटकीय क्षेत्रको संरक्षण सम्बन्धी तेह्रथुममा तीन जिल्लाका प्रदेश र प्रतिनिधिसभाका सांसद, सामुदायिक वन महासंघ, प्रभावित सामुदायिक वनका प्रतिनिधिहरुको परामर्श बैठक बसेको थियो । उक्त बैठकमा प्रदेशसभा सांसद पूर्ण कुमारी गुरुङले पहिले जिल्लाको सिमाना विवाद टुङ्ग्याउन आग्रह गरेका थिए । तर तेह्रथुमका प्रतिनिधि सांसद भवानी खापुङले उल्टै संखुवासभाले तेह्रथुमको भूभाग दावी गरिरहेको आरोप लगाएका थिए ।

जिल्लाको पुर्वमा पर्ने धर्मदेवी नगरपालिका १ मा पाथिभराको मन्दिर चर्चित पर्यटकिय स्थल तीनजुरे जलजले मिल्केको परिसरमा अवस्थित छ । पूर्वी ताप्लेजुङ जिल्लामा पाथिभराको उत्पति भएको हो । यसलाई ठूलो पाथिभरा भन्ने गरिएको छ । तर जलजले मिल्केबाट ताप्लेजुङको पाथिभरा देखिने भएकाले मागेको कुरा पुग्ने विश्वासले यहाँ पनि पाथिभराको स्थापना गरिएको पुजारी नवराज खनालले बताउछन् । छिमेकी जिल्ला तेह्रथुम सिमानामा पर्ने यो मन्दिर २०५३ सालमा २,९२० मीटरको उचाइमा स्थापना गरिएको हो । अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम पाथीभरा देवी भनी श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ ।

पाथिभरा संखुवासभाको मूख्य पर्यटकिय स्थल पनि मानिन्छ । विशेष गरी वैशाख १ गते नयाँ वर्षमा लाली गुराँस फूल्ने भएकाले पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । यस वरपर विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस पाइन्छ । यस मन्दिरको परिसरबाट मौसम खुला हुँदा सप्तकोशी नदीको पानी समेत देख्न सकिन्छ । भने ताप्लेजुङमा रहेको ठूलो पासथभराको दर्शन गर्न सकिन्छ ।

सम्बन्धित समाचार