खाँदबारी नगरपालिकाका लेखापाल पक्राउ




फागुन १८, सङ्खुवासभा । खाँदबारी नगरपालिकाका लेखापाल नविन श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धानले पक्राउ गरेको छ । नगरपालिकाको रकमलाई अनियमितता गरेको आरोपमा श्रेष्ठलाई अख्तियारले आईतबार दिउँसो पक्राउ गरेको हो ।

महालेखा परिक्षकले नगरपालिकाको आर्थिक बर्ष २०७३/७४ आर्थिक कारोवार अध्ययन गर्ने क्रममा पाँच करोड रकम बेरुजु भेटिएपछि खाँदबारी नगरपालिका ५ का कार्यबाहक अध्यक्ष श्याम प्रसाद निरौलाको संयोजकत्वमा तीन सदसिय समिति बनाई छानविन गरिरहेको थियो । छानविन समितिको अन्तिम प्रविवेदन नआई श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । श्रेष्ठलाई सोमबार आयोगलाई बुझाईने प्रहरी श्रोतले जनाएको छ ।

महालेखा परिक्षकको परिक्षणको क्रममा पाँच करोड रुपैयाँ बेरुजु भेटिएको र एक करोड ३९ लाख रुपैँया रकम सम्बन्धीत कर्मचारीबाट तत्काल दाखिला गर्न निर्देशन दिएको थियो । बेरुजु देखिएको पाँच करोड रुपैयाँ मध्ये एक करोड ४९ लाख बाहेक अन्य रकम आयोजना र सामाजिक सुरक्षा कार्याक्रम अन्तर्गतको रहेको खाँदबारी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार निरौलाले जनाएको थियो ।

तत्काल रकम दाखिला गर्नु पर्ने रकम मध्ये अन्य कर्मचारीको नाममा पनि देखिएको भएपनि लेखापाल श्रेष्ठले सवै अनियमितता आफैले गरेको स्वीकारेको र आफैले भुक्तानी गर्ने समेत बताएकोले श्रेष्ठ बढि अनुसन्धानको घेरामा रहेको जानकारी दिएका थिए ।

सम्बन्धित समाचार