सम्बन्धीत कसैको आँखा नपुगेको ‘धारो’




सङ्खुवासभा, ७ बैशाख । सङ्खुवासभाको दुर्गम मानिएको शिलिचोङ गाउँपालिका पुग्न आजको मितिसम्म आधा भन्दा बढी पैदल हिड्नुको विकल्प छैन । सङ्खुवाखोलादेखि गाउँपालिका कार्यालयसम्म नै उकालो (सालघारी) हिड्नु पर्छ । उक्त उकालोमा अहिले खानेपानी नभएपछि यात्रुहरु तिर्खाले ‘प्याकप्याकी’ भएर उकालो चढ्नु पर्ने बाध्यता छ । उकालोमा धारा निर्माण गरियो पनि तर मर्मत हुन नसकेपछि धारा हुनु र नहुनु बराबर भएको छ ।

तीन बर्ष अघि तत्कालीन सांसद तथा पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले त्यहाँ पानीको आवश्यकता महशुस गर्दै खानेपानीको ब्यवस्था गर्न रकम विनियोजन गर्नुभयो र धारा ल्याईयो पनि । तर, सो धारामा महिनौदेखि पानी आउन सकेको छैन । एक बर्ष अघि पनि पानी नआएपछि पुनः गुरुङले धारा मर्मत भन्दै पचास हजार रुपैयाँ विनियोजन गर्नुभएको थियो । मर्मत गरिएको महिना दिन जति पानी आएपनि अहिले एक थोपा पानी आउन सकेको छैन । घण्टौ हिड्नु पर्ने उकालोमा दुई वटा धारा बनाईयो तर धारामा पानी आउन छोडेपछि मर्मतको लागि कसैको आँखा गएको छैन ।

न त स्थानीयको ध्यान पुगेको छ न त स्थानीय सरकारको आँखा नै पुगेको छ । सदरमुकामबाट गाउँपालिकाको केन्द्र जाने मुख्य बाटोमा समेत धारा मर्मत गर्न नसक्नु शिलिचोङ गाउँपालिकाको जनप्रतिनिधीहरुको उदासिनता भएको स्थानीयले बताउने गरेका छन् । सम्पुर्ण अधिकार पाएको गाउँपालिकाले अगाडी नै बनिसकेको धारालाई मर्मत सम्म पनि गर्न नसक्नुले जनप्रतिनिधीहरुको असक्षमता देखाएको भन्दै बटुवाहरु कुरा काट्न थालेका छन् ।

उक्त धारामा पानी नआउनुको कारण मुहान संरक्षण गर्न नसक्नु भन्ने बुझिएको छ । सामान्य जनशक्तिले पनि पानी सुचारु हुने भनिएपनि कसैले ‘देला’ र ‘गरुँला’ भन्ने सोँचले पनि धारामा पानी आउन नसकेको हो । उकालोमा निरन्तर पानी आउने बनाउन सके बाटो हिड्ने बटुवालाई राहत मिल्ने देखिन्छ ।

सम्बन्धित समाचार