नयाँ गन्तव्यः पाँचखपन नगरपालिकाको घोर्ले झरना



खाँदबारी, बैशाख २५ गते । पाँचखपन नगरपालिका १ मा रहेको घोर्ले झरना पर्यटकका लागि नयाँ गन्तव्यका रुपमा चिनिन थालेको छ । घोरे झरना हेर्न र आसपासका क्षेत्रको दृश्यावलोकन गर्दै रमाउन दैनिक पर्यटकहरू आउने गरेका छन् । कुसुवा खोलाको पानीबाट बनेको यो झरना तीन तला जस्तो बनेर झरेको छ ।

सबैभन्दा माथिको पानीको छाँगा ९ मिटर, त्यस भन्दा तलको ६५ मिटर र अन्तिमको १ सय १७ मिटर गरी यो झरना १ सय ९१ मिटर अग्लो छ । जनप्रतिनिधिले घोर्ले झरनाको प्रचारप्रसार र यसको सम्भावनाबारे अध्ययन गरिरहेका छन् । झरनालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गत वर्ष सांसद विकास कोषबाट सडक निर्माणका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

उक्त रकमले चैनपुर–बाह्रबिसे सडक खण्डको जौंबारीबाट झरना जाने सडकको डाँडा गाउँसम्म ट्रयाक खोलिएको थियो । झरना जौंबारीबाट झन्डै ११ किलोमिटर उत्तर–पूर्वमा पर्छ । तर बिनियोजित रकमले झरनासम्म पुग्ने सडकको ट्रयाक खोल्न सकिएन । यो वर्ष नगरपालिकाको पहिलो नगरपरिषदले मर्मत तथा ट्रयाकका लागि नगद ८ लाख रुपैंया बजेट विनियोजन गरेको थियो ।उक्त रकमले गत वर्ष खोलिएको ट्रयाकको मर्मत गरेको र बाँकी रकमले ट्रयाक खोलिएको वडा नम्बर १ का अध्यक्ष टेकबहादुर बुढाथोकीले बताए । बाँकी २ सय ७० मिटरमा ढुंगाको सिाडी निर्माण गरिएको उनले बताए । घोर्ले झरना हेर्न आउने पर्यटकहरू दैनिक बढिरहेको उनको भनाई छ । ‘दैनिक एकसय आन्तरिक पर्यटक आउँछन् उनले भने, ‘वनभोज खान आउने र छाँगाको मनोरञ्जन लिनेहरू पनि त्यतिकै छन् ।’ वैशाख १ गते मात्रै झरनामा मनोरञ्जन लिन करिब एक हजार पर्यटक आएका थिए ।

धेरैले झरनालाई नयाँ वर्षको गन्तव्य बनाएको स्थानीय मिलन राईले बताए । ‘विगतमा सडक नहुँदा झरना हेर्न जान समस्या थियो’ उनले भने, ‘अब गाडीबाट सहजै झरना हेर्न पुगिने छ । चर्चामा सुनिदै आएका धनकुटाको नमस्ते झरना, तेह्रथुमको ह्यात्रुङ झरना र भोजपुरको छाँगे खोलाभन्दा यो कम आकर्षकको नभएको उनले बताए । झरनाको प्रचारप्रसार गर्न सके पाँचखपनको मात्र नभई सिंगो जिल्लाको पहिचान रहने नगरपालिकाका प्रमुख विपिन राईले बताए । यसलाई अझै प्रचार गर्न आगामी कात्तिक मंसिरमा घोरे झरना मिनी महोत्सवको आयोजना गर्न छलफल भइरहेको राईले बताए ।

संरक्षणमा विवाद

यसैबीच, घोर्ले झरना संरक्षणका लागि विवाद सुरु भएको छ । आन्तरिक पर्यटकहरूको मूख्य गन्तव्य बन्दै गएको झरनाको संरक्षण कसले गर्ने भन्ने विवाद सुरु भएको छ । गत चैतमा १ नम्बर वडाका दुर्गा निलम श्रेष्ठको संयोजकत्वमा १३ सदस्सीय घोर्ले झरना संरक्षण समिति निर्माण भयो । समिति चैत २५ मा जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता गरेको संयोजक श्रेष्ठले बताए । तर नगरपालिकाका प्रमुख, उपप्रमुख र सम्बन्धित वडाका जनप्रतिनिधिले जानकारी नै नदिई समिति निर्माण गरेको प्रति आपत्ति जनाएका छन् । बिना जानकारी समिति निर्माण गरेको भन्दै नगर कार्य समितिको वैशाख ५ मा बसेको बैठकले समिति खारेज गर्ने निर्णय समेत गरेको छ । वडाध्यक्ष टेकबहादुर बुढाथोकीको अध्यक्षतामा ६ गते बसेको वडा समितिको बैठकले समेत अर्को संरक्षण समिति निर्माण गर्ने निर्णय गरेको अध्यक्षले बताए ।

उनले झरनाको संरक्षण जस्तो कुरा दुई, चार जनाको मिलेमतोमा मात्र नहुने बताए । सम्बन्धित वडाका जनप्रतिनिधि र स्थानीयलाई जानकारी नदिई समिति गठन गरेकामा आपत्ति जनाएको उनले बताए । उनको नेतृत्वमा गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा श्रेष्ठ संयोजक रहेको समिति खारेज गरी नयाँ समिति निर्माणका लागि निवेदन दिएको बुढाथोकीले बताए । नगर प्रमुख विपिन राई र उपप्रमुख भीमादेवी राईलाई समिति निर्माणको विषयमा जानकारी नभएको बताउँछन् । समिति निर्माणको बिषयमा हामीलाई पत्तो छैन, उनले भने, संस्था खारेजी गर्नुपर्छ । तर श्रेष्ठ संयोजकको समिति दर्ताको प्रमाणपत्र समेत नगरपालिकाले चैत २७ गते दिएको श्रेष्ठ बताउँछन् । समितिमा नगर कार्यसमितिका ३ जना सदस्यहरू समेत रहेको श्रेष्ठले बताए । नगरपालिकाबाट समेत सबै प्रमाण पाइसकेकाले जनप्रतिनिधिरुले बिरोध गरेकोमा दुख व्यक्त गरे । जुनसुकै समिति निर्माण भए पनि सबैले झरनाको संरक्षण र सम्बर्धन गर्ने भएकाले नयाँ समिति निर्माणमा आपत्ति नभएको श्रेष्ठले बताए ।

ईकान्तिपुरबाट

सम्बन्धित समाचार