कृषि परियोजनाले सेकाहाका किसान समृद्धी तर्फ




सेकाहा, वैशाख २५ गते । संखुवासभाको खाँदबारी नगरपालिका ४ सेकाहाका किसानहरु प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालनमा आएपछी समृद्धी तर्फ उन्मुख भएका छन् । परियोजना सञ्चालनमा आएसंगै किसानहरु तरकारी खेती मार्फत आर्थिक रुपमा समृद्ध बन्दै गइरहेका छन् ।

जिल्ला कृषि विकास कार्यालय मार्फत सञ्चालन भएको परियोजनाले सेकाहाका ९४ घर परिवार अहिले व्यवसायिक तरकारी खेती गरिरहेका छन् । तरकारी विस्तार पकेट क्षेत्र घोषणा गरिएको सेकाहामा विगत दुई वर्ष देखि परियोजना सञ्चालन पछी तरकारी उत्पादन भईरहेको छ । उनीहरुले दुई सय रोपनी क्षेत्रफलमा गोलभेडा, कोपी, रायो साग, अकबरे खुर्सानी लगायतका तरकारीको खेती लगाएका छन् ।

वडाका विभिन्न पाँच कृषक समूहको पन्चकन्या तरकारी विस्तार पकेट क्षेत्र नामाकरण गरी व्यवसायिक तरकारी खेतीमा लागेको समूहका संयोजक पवित्रा गुरुङले बताइन् । गत वर्ष जिल्ला कृषि विकास कार्यालय मार्फ २ लाख ८० हजार रकम अनुदान प्राप्त भएपछी खेती विस्तार गरिएको गुरुङले बताइन् । यस वर्ष खाँदबारी नगरपालिका मार्फत ५ लाख र कृषकबाट २ लाख १९ हजार ५ सय रुपैंया रकम उपलब्ध भएको थियो ।

उक्त बजेट मार्फत कृषि समूहलाई बीउ वितरण, पाइप, प्लास्टिक टर्नेल, टुटा मियुल, स्प्रीङ कल लगायतका सामाग्री वितरण गरेको सार्वजनिक सुनुवाई मार्फत मंगलबार जानकारी दिइएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित खाँदबारी नगरपालिकाका मेयर मुरारी प्रसाद खतिवडाले नगरपालिकाका विभिन्न वडालाई कृषिजन्य वस्तुहरुको पकेट क्षेत्र बनाउन पहल गरिरहेको बताए ।

कार्यक्रममा उपस्थित नगरपालिकाका मेयर, उपमेयर, कर्मचारी र कृषि विकास कार्यालयका प्राविधिकहरुले कृषकका व्यवसायिक तरकारी खेतीको समेत अनुगमन गरेको थियो ।

सम्बन्धित समाचार