खाँदबारी नगर बालक्लब सञ्जालको अध्यक्षमा विरेन्द्र




संखुवासभा असार ११ गते । खाँदबारी नगरपालिकामा दुई दिन भएको नगर बाल भेलालेखाँदबारी नगर स्तरिय बाल क्लब सञ्जाल पुनर्गठन भएको छ । भेलाले बिरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लब सञ्जाल गठन गरेको हो ।

सञ्जालको उपाध्यक्षमा मनिशा कार्की, सचिव सुजिता पोख्रेल सहसचिवमा एलिशा ओझा र कोषाध्यक्षमा जयन्ती तामाङ छनौट भएका छन् । अध्यक्षको जिम्मेवारी सम्हालेपछि अध्यक्ष विरेन्द्र कार्कीले बालबालिका क्षेत्रमा नगरपालिकासंग नियमित सहकार्य गर्दै खाँदबारी नगरपालिकालाई नै बालमैत्री नगरपालिका निर्माणमा महत्वपुर्ण कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे । क्लबले नगरपालिकामा बढ्दो बाल हिंसाका घटनाहरुलाई निर्मुल पार्न कटिबद्धका साथ अगाडी बढ्ने कार्कीले बताए ।

बाल भेलामा नगरपालिकाका क्लबहरुबाट ७० बालबालिकाहरुको उपस्थिती रहेको थियो । जिल्ला बाल क्लब समन्वय समितिका अध्यक्ष सञ्जय ओझा, खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवासले नगरपालिकाको बालबालिका क्षेत्रमा सकृय रुपमा सफल कार्यकालको शुभकामना दिए ।

आईतबार र सोमबार भएको बाल भेलाबाट विगत चार बर्ष अगाडीबाट पुनर्गठन हुन नसकेको नगरपालिका स्तरको बाल क्लब सञ्जालको नयाँ समिति समेत निर्माण भएको हो । मकालु त्रिशक्ति समुह नेपाल (माट्स नेपाल)को आयोजना, जिल्ला बाल क्लब समन्वय समितिसंगको समन्वय र खाँदबारी नगरपालिकाको सहयोगमा भेलाको आयोजना भएको हो ।

सम्बन्धित समाचार