सिलिचोङको दुर्गम गाउँमा पहिलो पटक स्वास्थ्य शिविर



सङ्खुवासभा, असार ४ गते । सङ्खुवासभा सदरमुकामदेखि १६ कोष टाढा पर्ने सिलिचोङ गाउँपालिकाको दुर्गम गाउँ याचम्खामा पहिलो पटक स्वास्थ्य सिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको अतिदुर्गम मध्येको एक याचम्खा गाउँका सिलिचोङ गाउँपालिका स्वास्थ्य विभागको आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

यस पटक क्षयरोगको विरामीहरुको पहिचान गर्ने मुख्य लक्ष्यका साथ शिविर सञ्चालन गरिएको स्वास्थ्य विभाग प्रमुख दिपेश कुलुङले जानकारी दिनुभयो । बुधबार, बिहिबार र शुक्रबार तीन दिन सञ्चालन गरिएको शिविरमा २१ जनाले खकार परिक्षण गराएका थिए । त्यस्तै, ४५ जनाले स्वास्थ्य परिक्षण गराएका छन् भने २६ जनाले ब्लड ग्रुपिङको परिक्षण गराएका छन् । शिविरमा सम्पुर्ण सेवाहरु निशुल्क प्रदान गरिएको थियो ।

स्वास्थ्य परिक्षणको लागि सङ्कलन गरिएको परिक्षण नमुनाहरु ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रमा परिक्षणको लागि ल्याईएको स्वास्थ्य प्रमुख कुलुङले जानकारी दिनुभयो । उनीहरुको सम्पुर्ण रिपोर्ट आउन कम्तीमा तीन दिन लाग्ने कुलुङको भनाई छ । नागरिकहरुको स्वास्थ्य परिक्षणको रिपोर्ट गाउँमै पठाईने ब्यवस्था मिलाईने उहाँले जानकारी दिनुभयो । ‘नेगेटिभ’ रिपोर्ट आए गाउँमै पठाईदिन्छौं, पोजिटिभ आए पुनः परिक्षण गरेर उपचारको प्रकृया अगाडि बढाउँछौ’, कुलुङले भन्नुभयो । शिविरमा स्वास्थ्य विभाग प्रमुख एवं हेल्थ एसिष्टेन्ट दिपेश कुलुङ, हेल्थ एसिष्टेन्ट लोक प्रकाश रोकाय, ल्याब एसिष्टेन्ट अलिना राईले सेवा दिएका थिए भने गाउँपालिकाको प्रतिनिधीका रुपमा प्रविन कुलुङको उपस्थिती रहेको थियो । शिविर सञ्चालन गरिएको स्थानदेखि स्वास्थ्य केन्द्र आईपुग्न झण्डै एक दिन लाग्छ ।

गाउँपालिकालाई ‘शुन्य छयरोग’ गाउँपालिका बनाउने उद्देश्यका साथ दुर्गम गाउँहरुमा शिविर सञ्चालन गर्न लागिएको शिलिचोङ गाउँपालिकाका प्रमुख रामबहादुर कुलुङले बताउनुभयो । स्वास्थ्य केन्द्र जनिककाहरु परिक्षण गर्न आफै जाने र टाढाका नागरिकहरुको लागि नियमित शिविर सञ्चालन गरिने प्रमुख कुलुङको भनाई छ ।

सम्बन्धित समाचार