सिलिचोङको ताम्कुमा बाघको आतंक



सङ्खुवासभा, साउन ७ गते । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका ३ ताम्कुमा बाघको आतंक बढेको छ । तीन नम्बर वडा स्थित याचम्खा र लकुवा गाउमाँ पसेको बाघले दिनहुँजसो बाख्रा र बङ्गुर खान थालेपछि बाघको आतंक बढेको हो ।

गत असार २७ गतेदेखि अहिलेसम्म ७ वटा बाख्रा र दुईवटा बङ्गुर बाघले खाएको याचम्खाका स्थानीय हरिकुमार कुलुङले जानकारी दिनुभयो । गाउँमा पसेको बाघले दिन बिराउँदै गोठमा राखिएको बाख्रा र बङ्गुर खान थालेको कुलुङले बताउनुभयो । अहिलेसम्म याचम्खामा पाँच वटा बाख्रा र लकुवामा दुई वटा बाख्रा र दुई वटा बङ्गुर खाएको उहाँले जानकारी दिनुभयो ।

गोठमा बाँधेर राखेको अरु बाख्रालाई टोकेर छोड्ने र एउटालाई लिएर जाने गरेको अर्का स्थानीय मनबहादुर कुलुङले जानकारी दिनुभयो । बाघले घाईते बनाएर छोडेकाहरु पनि बाँच्ने अवस्था नभएको उहाँको भनाई छ । पछिल्लो समय गाउँमा जंगल क्षेत्र बढ्दै गएकोले बाघ गाउँ पसेको स्थानीय नागरिकहरुको भनाई छ । पहिले बाघ गाउँपस्दा पनि भरुवा बन्दुकको सहायताले तर्साएर खेदाउने गरेपनि अहिले सवै बन्दुक प्रहरी कार्यालयमा बुझाएकोले खेदाउन नसकिएको उनीहरुको भनाई छ ।

यता मकालु बरुण राष्टिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत सञ्जिव गुप्ताले बाघले पुराएको क्षती सरकारले ब्यहोर्ने बताउनुभएको छ । घरपालुवा जनावरमा पुगेको क्षतीको प्रमाण सहित निकुञ्ज कार्यालयमा निवेदन पेश गरे पशुपालकहरुले क्षतीपुर्ती पाउने गुप्ताले जानकारी दिनुभयो । उन्नत जातको पशुभए सोही अनुसारको र अन्य जातको पशुभए दश हजार रुपैयाँसम्म क्षतीपुर्ती पशुपालकले पाउने जानकारी दिनुभएको छ । अधिकृत गुप्ताले गोरखापत्रसँग कुरा गर्नुहुँदै जंगल गएको बेला एक्लै नजाने, जंगली जनावरलाई असहज गराउने जस्ता कृयाकलाप नगर्नसमेत सुझाव दिनुभयो । त्यसो गरे जनावरले कुनै हालतमा पनि मानविय क्षती नपुराउने उहाँले दावी गर्नुभयो ।

सम्बन्धित समाचार