तुम्लिङटारका किसानलाई कटहरबाट मनग्ये आमदामी




सङ्खुवासभा, साउन ७ गते । खाँदबारी ९ तुम्लिङटारका रामबहादुर कुमाल खाँदबारीमा लाग्ने सनिबारे हाटमा अहिले हप्तैपच्छिे कटहर बेच्न आईपुग्नुहुन्छ । शुक्रबार दिउँसो बोटबाट झारेको कटहर सनिबार बिहानै ट्याक्टरमा भरेर खाँदबारी बजारमा ल्याईपुराउनुहुन्छ र विक्रि गर्न बजारको एक भागमा फिजाएपछि ग्राहकहरुको ओईरो लाग्छ ।

कुमालको मात्र होईन तुम्लिङटारका अन्य थुप्रै किसानहरुको पनि शुक्रबार र सनिबारको दैनिकी उस्तै हुन्छ । अरुण उपत्यकामा पर्ने तुम्लिङटारदेखि १२ किलोमिटरको दुरीमा रहेको खाँदबारी नगरपालिका १ मा लाग्ने सनिबारे हटियामा हजारौं रुपैयाँको कटहर विक्रि हुन्छ । यहाँका किसानहरुले बर्षातको समयमा कटहरबाट मनग्य आमदामी लिईरहेका छन् । एक जना किसानले एक हप्तामा मात्र करिब १० हजार रुपैयाँको कटहर विक्रि गर्ने गरेको बताएका छन् । प्रतिगोटा ४० देखि ८० रुपैयाँमा विक्रि गर्दै आएको किसानहरुले प्रत्येक हप्ता दुई सय वटासम्म बजार ल्याउने गरेको बताएका छन् । सानो आकारको भए ४० र निक्कै ठुलो आकारको भए ८० रुपैयाँसम्मा विक्रि गर्ने गरेको कटहर बेच्दै आएका रामबहादुर कुमालले जानकारी दिनुभयो । ‘अझ मसिनो पनि फल्छ, तिनीहरुलाई घरमै छानीराखेर राम्रो मात्र बेच्न ल्याउँछौं’, कुमालले भन्नुभयो ।

एउटै किसानको बारीमा एकदेखि १० बोटसम्म कटहर रहेको र राम्रो फल लागेको साल एउटै बोटमा पाँच सय दानासम्म फल्ने किसानहरुले अनुभव सुनाएका छन् । धेरै संख्यामा फल्ने खालको बोटमा सानो आकारको हुने तर, पातलो फल्ने बोटमा ठुलो आकारको कटहर फल्ने गरेको अर्का किसान रामु हलिदेले जानकारी दिनुभयो । कटहरको मुल्य र फल लागेको संख्या हेर्दा तुम्लिङटारका किसानले एकबोटबाट मात्र २५ हजारदेखि ४० हजार रुपैयाँसम्म आर्जन गरेको देखिन्छ । धेरै बोट भएको किसानहरुले सोही अनुसार राम्रो आमदामी लिईरहेको देख्न सकिन्छ । तर, कुनै बर्ष एउटै बोटमा धेरै वा थोरै फल्ने गरेको किसानहरुले बताएका छन् । सवै बोटमा धेरै फलेको बर्ष कटहरबाट राम्रो आमदामी भईरहेको तुम्लिङटारका किसानहको भनाई छ ।

तुम्लिङटारबाट जस्तै चेवाँबेशीबाट पनि खाँदबारी बजारमा कटहर बेच्न ल्याउछन् । तर, चेवाँबेशीबाट खाँदबारी आईपुग्न ढुवानीमा खर्च भई महँगो हुने भएकोले तुलनात्मक हिसावले कम ल्याउने गरेका छन् । सङ्खुवासभाको तल्लो भागहरुमा कटहर राम्रो फल्ने गरेको छ । कटहरे, सातटारे, हेलुवाबेँशी, मालिमटार, चन्दनपुर लगायतका क्षेत्रमा कटहर राम्रो उत्पादन हुने गरेको छ । त्यस क्षेत्रमा कटहरको राम्रो उत्पादन भएपनि बजार पायक नपर्ने भएकोले खेर गईरहेको छ । खान र विक्रि गर्न नसक्दा धेरै किसानहरुले गाई भैंसीलाई खुवाउने गरेका छन् ।

सम्बन्धित समाचार