अशक्त श्रीमतिलाई स्याहार गर्ने राई सम्मानित




खाँदबारी, असोज ८ गते । खाँदबारी नगरपालिका ८ का स्थानीय बीरबहादुर राई र उहाँकी धर्मपत्नी धनमाया राईलाई सिंहदेवी महिला समुहले सम्मान गरेको छ । खाँदबारी ८ कै सिंहदेवी महिला समुहले आइतबार एक कार्यक्रम आयोजना गरि सम्मान गरेको हो ।

बीरबहादुर राईले आफ्नी जीवन संगिनी धनमाया राई लामो समयदेखि प्यारालाईसिसको बिरामी भएपनि निरन्तर सेवा गरिरहेको भन्दै राईलाई सम्मान गरेको हो । राईसँगै उहाँकी धर्मपत्नी धनमाया राईलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको छ । पछिल्लो समय सम्बन्धमा केही असहजता आउने वित्तिकै सम्बन्ध विच्छेद गर्ने, अशक्त भएपछि अर्को बिवाह गर्ने तथा हेरचाह नगर्ने जस्ता विकृती जन्य क्रियाकलापहरुलाई चुनौति दिँदै निरन्तर श्रीमतीको सेवामा लागिरहेकोले राईलाई सम्मान गरिएको महिला समुहका अध्यक्ष सृजना रोक्काले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले समाजका उदाहरणीय ब्यक्तिलाई सम्मान गरेर महिला समुहले अर्को उदाहरणीय काम गरेको बताउनुभयो । कार्यक्रममा बोल्नुहुँदै शाक्यले बिरामी धनमाया राईले बीर बहादुर राई जस्तो श्रीमान पाउनु सौभाग्य रहेको बताउनुभयो । प्रमुख शाक्यले आफ्नो दाजु किरण शाक्य र बुवा जगत शाक्यलाई पनि रोगले अशक्त बनाएर लगेको स्मरण गर्नुहुदै बिरामीको चाहनालाई बुझेर लामो समयदेखि बिरामीको सेवामा लागेकोमा राईप्रति सम्मान समेत ब्यक्त गर्नुभयो । पछिल्लो समय पश्चिमा साँस्कृतिले नेपाली समाजलाई गाज्दै लगेको अवस्थामा बीरबहादुर राईबाट अरुले पनि सिक्नु पर्ने बताउनुभयो ।

बिरामी धनमाया राई विगत आठ बर्षदेखि प्यारालाईसिसको बिरामी हुनुहुन्छ । उहाँको खुट्टा चल्दैन भने उहाँको हात पनि राम्रोसँग चल्दैन । बिरामी राईलाई उहाँको श्रीमान अन्य काम छोडेर श्रीमतिका स्याहारमा मात्र खटिएका छन् । राई दम्पत्तीका तीन छोरिहरु पनि छन् ।

सम्बन्धित समाचार