अरुण तेश्रोको हालसम्मको कामबाट सरकार सन्तुष्ट छः मन्त्री खतिवडा



सङ्खुवासभा, कातिक १९ गते । बहुचर्चित अरुण तेश्रो जलविद्युत आयोजनाको हाल भईरहेको कार्यबाट सरकार सन्तुष्ट रहेको संघिय सरकारका अर्थमन्त्री युवराज खतिवडाले बताउनुभएको छ । आईतबार सङ्खुवासभा आउनुभएका मन्त्री खतिवडाले सोमबार पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो ।

हिमाली जिल्ला सङ्ंखुवासभामा निर्माणधीन रहेको बहुचर्चित अरुण तेस्रोको निर्माणको सुरुवाती चरण रहेकोले अहिले नै रिभ्यू गर्ने बेला नभएको समेत मन्त्री खतिवडाले बताउनु भएको छ । अरुण तेस्रोको निर्माण कार्य चलिरहेको र कार्यप्रगति भइरहेको हुँदा तत्कालै त्यसको बारेमा पुनरावलोकन गर्ने भन्दा पनि कार्यप्रगतिको आधारमा सरकारले सहयोग गर्नु पर्ने उहाँको भनाई थियो । मन्त्री खतिवडाले अरुण तेश्रो निर्माण कम्पनीका पदाधीकारीहरुसँग प्रगति बिवरण समेत बुझिलिनुभएको थियो ।

राष्ट्रिय गौरवको जलबिद्युत्त आयोजना स्थलसम्म सडक पहुँच मार्ग राम्रो बनाउन सरकारले २०६६ सालमा नै नीतिगत निर्णय गरेको अर्थमन्त्री खतिवडाको भनाई थियो । ‘स्थानीय नागरिकको समेत पहुँच बढाउदै लैजाने र जलविद्युत्तको आयोजना स्थलसम्म मध्य पहाडी लोकमार्गले छुवाएर लैजाने गरी नीति बनाएपनि छिटो–छिटो सरकार परिवर्तन हुँदा कार्यान्वयन हुन नसकेको हो’ मन्त्री खतिवडाले भन्नुभयो ।

अरुण तेस्रो जलविद्युत्त आयोजनालाई लक्षित गरेर कोशी राजमार्गको विस्तार भए पनि आयोजनास्थलसम्म पुग्ने सडकको अवस्थामा राम्रो नहुँदा आयोजना प्रभावित हुन सक्ने प्रति स्थानीयहरुले चिन्ता व्यक्त गरेका थिए । मध्यपहाडी लोकमार्गको पहुँच जलविद्युत्त आयोजनास्थलसम्म सरकारले र्पुयाउने दायित्व रहेको बताउनुहुँदै त्यस सडकले विद्युत्त आयोजनालाई मात्रै फाइदा पुग्ने भन्दा पनि स्थानीयबासीहरुले त्यो सडकको फाइदा लिन सक्नु पर्ने मन्त्री खतिवडाको भनाई थियो । त्यो सडक पहुँचमा रहेको स्थानीयहरुले कृषि उत्पादन बढाउने, वनजन्य र प्राकृतिकजन्य वस्तुको उत्पादन बढाउने र यसलाई जतिसक्दो साधान स्रोतको उपयोग गरि फाइदा लिन सक्नु पर्ने उहाँको जोड थियो ।

अर्थमन्त्री खतिवडाले राष्ट्रिय गौरवको किमाथाङ्का नाका खोल्ने र त्यहाँ लामो समयदेखि स्थापना हुन नसकेको भन्सार कार्यालय, राजश्व कार्यालय, सीमा प्रशासन र सुरक्षाका हिसाबले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको कार्यालय स्थापना गर्ने सोचका साथ सरकार अगाडि बढेको समेत मन्त्री खतिवडाले बताउनुभयो ।

फरक प्रसंगमा अर्थमन्त्री खतिवडाले करको विषयमा तल्लो तहमा नकारात्मक सन्देश गएकाले त्यसको वास्तविकता बुझ्न आग्रह गर्नुभयो । अहिले बजारमा हल्ला भएजस्तो सरकारले साधारण खर्च बढी नभएको बरु राजश्व संकलन बढी भएको मन्त्री खतिवडाले बताउनुभयो ।

जिल्लाको सदरमुकाम खाँदबारीमा स्थापना भएको आन्तरिक राजश्व कार्यालय धरान अन्तर्गत करदाता सेवा कार्यालयको उद्घाटन गर्न मन्त्री खतिवडा आइतबार खाँदबारी आइपुग्नु भएको हो ।
गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार