संखुवासभा, कातिक २० गते । विपत् व्यवस्थापनको तालिममा सहभागी हुन पाँचखपन नगरपालिकाका दुई कर्मचारी साथमा धनकुटा लगिएको गाडी सुनसरी जिल्लाको भण्टाबारीमा रहस्यमय ढंगले दुर्घटना भएको छ। तर नगरप्रमुख विपिन राई भने उक्त गाडी दुर्घटनाबाट आफूलाई जानकारी नभएको बताएका छन्। गत कात्तिक १५ गते बा १ ज ५४० नम्बरको गाडी दुर्घटनामा परी चालक सुजन थापा गम्भीर घाइते भएका थिए।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर श्रेष्ठ र नायक सुब्बा प्रेमबहादुर श्रेष्ठ कात्तिक १५ र १६ गते विपत् व्यवस्थापनको तालिममा सहभागी हुन नगरपालिकाको गाडी लिएर धनकुटा गएको उपप्रमुख भीमादेवी राईले जानकारी दिएकी छिन्। उपप्रमुख राईले भनिन् ुधनकुटासम्म जाने अनुमति लिएको गाडी कसरी सुनसरीको भण्टाबारीमा दुर्घटना भयो। गाडी दुर्घटना परी चालक सुजन थापा र अर्का एक जना घाइते भएर उपचारका लागी विराटनगर पुर्याएपछि प्रहरीले फोन गर्यो। त्यसपछि मात्र नगरपालिको गाडी दुर्घटना परेको थाहा भयो। यसको छानबिन गरिन्छ।
प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले पनि बचाउ गर्दै गाडी अफिसकै कामका लागि प्रमुख राईले काठमाडौं पठाइएको तर के काम थियो भन्ने जानकारी नभएको बताए। उता चालक सुजनले आफू व्यत्तिगत काममा नभर्इ अफिसकै काममा काठमाडौं जाने क्रममा साइकल यात्री जोगाउन खोज्दा दुर्घटनामा परेको बताए। चालक थापाको टाउको, आँखा र हातको नारीमा आठ टाँचा गरिएको छ।
चालक थापाको विराटनगरको गोल्डेन हस्पिटलमा उपचार भइरहेको छ। गाडी काम नलाग्ने अवस्थामा भएकाले मर्मतका लागि अहिले सुनसरी जिल्ला इटहरीमा ल्याइएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिए। सरकारी सम्पतिको दुरुपयोग भएको भन्दै स्थानीयहरूले उक्त घटनाको विरोध जनाएका छन्। तत्काल घटनाको छानविन गर्न माग समेत गरेका छन् ।
नागरिक चासो डटकम
प्रतिक्रिया