दुई मन्त्री सहित जम्बो सरकारी टोली संखुवासभामा




सङ्खुवासभा, कातिक ३० गते । शुक्रबार दुई मन्त्री सहित जम्बो सरकारी टोली संखुवासभा आईपुगेका छन् । अप्पर अरुण जल विद्युत आयोजनाको स्थलगत अनुगमन गर्न जलश्रोत तथा उर्जामन्त्री बर्षमान पुन, अर्थमन्त्री डा.युवराज खतिवडा लगायतको टोली संखुवासभा आईपुगेका हुन् ।

स्थलगत अनुगमन गरिसकेपछि उर्जामन्त्री पुनले सङ्खुवासभालाई विद्युत उत्पादनको ‘हब’ बनाईने बताउनुभएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा सहितको उच्च अधिकारीहरुको टोली सहित शुक्रबार सङ्खुवासभा आईपुग्नुभएको मन्त्री पुनले यस्तो बताउनुभएको हो ।

सङ्खुवासभाको तुम्लिङटारमा आयोजित संक्षिप्त कार्यक्रममा बोल्नुहुदै उर्जामन्त्री पुनले अरुण तेश्रो पछि माथिल्लो अरुणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । सङ्खुवासभामा भएको नदिहरु मध्ये अरुणबाट मात्रै पनि हजारौ विद्युत उत्पादन गर्न सकिने र त्यसलाई राज्यले प्राथमिकतामा राखेको बताउनुभयो । अहिले ९ सय मेगावाटको अरुण तेश्रो जलविद्युत आयोजना निर्माणको क्रममा रहेको र यो सँगै अव ७ सय मेगावाट क्षमताको माथिल्लो अरुण पनि निर्माण प्रकृयामा गईसकेको बताउनुभयो । यसरी अरुण नदिबाट मात्रै विद्युत उत्पादन गरेर देशकै विद्युत उत्पादन हव सङ्खुवासभालाई बनाईने मन्त्री पुनको भनाई थियो ।

माथिल्लो अरुण आयोजनाको २४ किलोमिटर पहुँच मार्ग निर्माणका लागि निर्माण कम्पनी छनौट गर्न पुर्व योग्यताको सुचना आव्हान गरिसकेको जानकारी दिनुहुँदै आगामी पुष २० गते भित्र आवेदन संकलन गरिसकिने उहाँले बताउनुभयो । ईच्छुक कम्पनीको प्रस्ताव मुल्याङ्कन गरि पुर्व योग्यतामा सफल भएका कम्पनीसँग चैतको पहिलो साता भित्र प्राविधिक तथा आर्थिक प्रस्तावका लागि टेण्डर आव्हान गर्ने कार्यतालिका रहेको मन्त्री पुनले जानकारी दिनुभयो । उहाँका अनुसार सन २०२१ को अप्रिलमा निर्माण कम्पनी छनौट गरि निर्माण कार्य सुरु गर्ने र सन २०२६ को सेप्टेम्बरमा योजना सम्पन्न गर्ने लक्ष्य सरकारले लिएको छ । कार्यक्रममा बोल्दै मन्त्री पुनले भन्नुभयो, ‘अव यत्ति बुझ्नुहोस, अप्पर अरुणको काम सुरु भईसक्यो ।’

लगानीका लागि स्थानीयलाई पहिलो प्राथमिकता

तुम्लिङटारमा आयोजित कार्यक्रममा सहभागी स्थानीय नेता र नागरिकहरुले निर्माण हुने भनिएको माथिल्लो अरुणमा स्थानीय नागरिकहरुको पहुँच हुनु पर्ने माग राखेका छन् । संघिय सांसद राजेन्द्र गौतमले प्रभावित क्षेत्रका नागरिकहरुले चाहेजति सेयर लगानी गर्न पाउनु पर्ने र प्रत्यक्ष सेयर हाल्न नसक्ने निम्न आयश्रोत भएकाहरुको लागि पनि केही न केही ब्यवस्था गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । विद्युत निर्माण स्थल दुर्गम र कम आयश्रोत भएका नागरिकहरुको बसोबास रहेकोले उनीहरुलाई ब्यवस्थीत गर्नुपर्ने माग राख्नुभयो ।

पुर्व स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङले आयोजना निर्माण क्षेत्रका नागरिकहरुलाई उचित मुआब्जा वितरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । अरुण तेश्रोको मुआब्जा वितरण र निर्माण कार्यको तारतम्य मिल्न नसकेको बताउनुहुँदै माथिल्लो अरुणमा त्यस्तो हुन नहुने विचार ब्यक्त गर्नुभयो । विकास कार्यमा सङ्खुवासभाका राजनितिक दल र राजनितिकर्मीहरु एक रहेकोले कुनै अवरोध विना योजना सम्पन्न हुनेमा आफु ढुक्क रहेको समेत गुरुङले बताउनुभयो । यस विषयमा बोल्नुहुदै मत्री पुनले अप्पर अरुण स्वदेशी लगानीमा बन्न लागेकोले चाहे जत्ति सेयर हाल्न सकिने बताउनुभयो ।माथिल्लो अरुणको निर्माण स्थलको अवलोकन गर्न उर्जामन्त्री बर्षमान पुन, अर्थमन्त्री डा. युवराज खतिवडा, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्, विश्व बैंकका उपाध्यक्ष हाटबिग साफेर, अमेरीकाका लागि नेपाली राजदुत अर्जुन कार्की लगायतका टोली सङ्खुवासभा आईपुगेका हुन् । हेलिकप्टरबाट आएको टोलीले भोटखोला गाउँपालिकामा पर्ने किमाथाङ्का, लिंगम लगायतका स्थानहरुको अवलोकन गरेका थिए । अर्थमन्त्री खतिवडा र विश्व बैंकका उपाध्यक्ष साफेर अवलोकन लगत्तै काठ्माण्डौ फर्केका थिए भने अन्य भने कार्यक्रमपछि मात्र फर्किएका थिए ।

सम्बन्धित समाचार