सिद्धकाली मन्दिरमा पर्यटकको घुईचो बढ्दो



सङ्खुवासभा, मंसिर १४ गते । सतिदेवीको दाहिने आँखा पतन भएको स्थानमा स्थापित सिद्धकाली मन्दिरमा पछिल्लो समय भक्तजनहरुको घुईचो बढ्न थालेको छ । सङ्खुवासभाको चैनपुर नगरपालिकामा पर्ने सो मन्दिरको ब्यवस्थापनमा नगरपालिकाले ब्यवस्थापन गर्न थालेपछि भक्तजनहरुको घुईचो लाग्न थालेको हो ।

केही बर्षअघिसम्म फात्तफुत्त मात्र पाठपुजा गर्न आउने गरेकोमा अहिले विहान सवेरैदेखि साँझसम्म नै भक्तजनहरु आईरहने गरेको मन्दिरका पुजारी टंकनाथ महन्तले बताउनुभयो । पछिल्लो समय सङ्खुवासभा भन्दा बाहिरका भक्तजनहरु पनि देवीको दर्शन गर्न आउने गरेको उहाँले जानकारी दिनुभयो । ‘पहिले त विहान पाठ पुजा गरेपछि घर गएर बस्नु पथ्र्यो अहिले त्यस्तो फुर्सद छैन’, पुजारी महन्तले भन्नुभयो । एक पटक दर्शन गर्न आएपछि फेरी दोहोराएर आउने भक्तजनहरुको संख्या पनि उल्लेख्य रहेको पुजारी महन्तको भनाई छ ।

मन्दिर क्षेत्रमा भेटिएका दर्शनार्थीहरुले पनि मनको कामना पुरा हुने विश्वासले दर्शन गर्न आउने गरेको बताउने गरेका छन् । यस अघि पनि दर्शन गरेपछि देवीसँग मागेको कुरा पुरा भएकोले फेरी देवीको दर्शन गर्न आएको मन्दिर परिषरमा भेटिएका दर्शनार्थीहरुले बताएका छन् । मन्दिर परिषरमा भेटिनुभएका दर्शनार्थी ईन्दीरा कार्कीले अघिल्लो पटकको दर्शनबाट मनोकाक्ष पुरा भएकोले फेरी देवीको दर्शन गर्न आएको बताउनुभयो । सिद्धकाली मन्दिरमा निसन्तान दम्पत्तीहरु सन्तान प्राप्तीको कामना गर्न, विद्यार्थीहरु विद्या आर्जनको लागि आउछन् भने शुख, शान्तिको कामना गर्न आउने गरेका छन् ।

मन्दिर क्षेत्रलाई पुर्वकै धार्मिक पर्यटनको गन्तब्यको रुपमा विकास गर्नको लागि आफुहरु लागिपरेको चैनपुर नगरपालिकाका प्रमुख भरत खत्रीले जानकारी दिनुभयो । सवैभन्दा पहिले मन्दिर क्षेत्रको तारबार र रेलिङ लगाएर आकर्षक बनाईएको उहाँले बताउनुभयो । नगरपालिका र दात्री निकायको संयुक्त प्रयासमा भक्तजनहरुको लागि आवास गृह बनाईएको उहाँले जानकारी दिनुभयो । आफु निर्वाचित भएर आएपछि बाह्रै महिना सडक सञ्जालबाट मन्दिर पुग्न सकिने गरि दुई तर्फबाट सडकको स्तर उन्नती गरेको उहाँले दावी गर्नुभयो । चैनपुर बजार हुँदै र गुफापोखरी हुँदै मन्दिर क्षेत्र प्रवेश गर्ने सहज सडक भएकोले कुनै कष्ट विना भक्तजनहरु दर्शन गर्न आईपुग्ने नगर प्रमुख खत्रीको भनाई छ ।

सिद्धकाली मन्दिरमा बर्षेनी बाला चुतुर्दशीको अवसरमा धार्मिक मेला लाग्दै आएको छ । पौराणीक महत्व र ठुलो शक्तिपिठको रुपमा सिद्धकाली देवी स्थापीत रहेपनि प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको भन्दै यस बर्षको बाला चतुर्दशीको दिन बृहद मेला लगाउने भएको छ । मेलापछि २२ मंसिरमा मुक्तिनाथबाट ल्याईएको आँखाको प्रतिमा पनि प्रतिष्ठापन गरिने आयोजकले जनाएको छ । उक्त आँखाको प्रतिमा मुक्तिनाथबाट दुई पुस्ताअघि ल्याएर हाल भोजपुरका सुरेश चापागाईले पुज्दै आउनुभएको थियो । उक्त आँखाको प्रतिमा विशेष विधि पुर्वक मन्दिरमा प्रतिष्ठापन गर्न लागिएको नगरप्रमुख खत्रीले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट

सम्बन्धित समाचार