किमाथांका क्षेत्रमा सिमा नदी च्यापेर चीनद्वारा सडक निर्माण



पारी चिनले बनाएको पक्कि सडक, वारी कटानमा पर्दै आएको नेपाली भुभाग । तस्विरः गंगा विष्ट

संखुवासभा, मंसिर १६ गते । चीनले अरुण नदी किनारमा तटबन्ध बनाई रिउबाट चाँगा बजारसम्म सडक विस्तार गरेको छ। यसले नेपाली भूमि कटानको जोखिम बढाएको छ। स्थानीयले नदी कटान रोक्न भोटखोला गाउँपालिका–१ किमाथांकामा बनाएको तारजालीको तटबन्ध कमजोर बनेको छ।

चीनले पक्की तटबन्ध लगाउँदा नदीले मोड परिवर्तन गरी नेपाली भूमिमा क्षति पु¥याउन थालेको स्थानीयको भनाइ छ। संखुवासभाका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले नदी व्यवस्थापनका लागि स्थायी तटबन्ध निर्माण गर्न आवश्यक देखिएको बताए। ‘नेपाली भूमि जोखिममा रहेकाले संरक्षणमा जोड दिनुपर्छ’, उनले भने।

उनका अनुसार उक्त क्षेत्रमा भन्सार कार्यालय, सुक्खा बन्दरगाह, सीमा सुरक्षा, अध्यागमनलगायत कार्यालय स्थापना गर्ने गरी नक्सासमेत तयार गरिएको छ। चीनतर्फ कंक्रिट वालसमेत लगाइएको बारेमा सम्बन्धित कार्यालयमा पत्राचार गरिने उनले बताए। यसअघि डेढ रोपनीभन्दा बढी जग्गा कटान भएपछि रोकथामका लागि साविक किमाथांका गाविस र त्यसपछि भोटखोला गाउँपालिकाले १ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन्। चीनबाट सिमेन्ट र तारजाली खरिद गरी बनाइएको तटबन्धले केही मात्रामा नदी नियन्त्रण भएको स्थानीय निमा नावाले बताए। ‘माथिल्लो सीमा कायम भएको कामु खोलामा पनि चीनले पक्की तटबन्ध लगाएको छ’, उनले भने। बर्खाको समयमा नेपाली भूमि अझै धेरै कटान हुने सम्भावना बढेको उनको भनाइ छ।

नेपाली पक्षले आफ्नो भुमि बचाउन लगाएको पर्खाल । तस्विरः गंगा विष्ट

उनका अनुसार चीनले किनार च्याप्दै सडक विस्तार गरिरहेको छ। नेपाल सरकारले पक्की तटबन्ध बनाएर नदीलाई पुरानै बहावमा नफर्काउने हो किमाथांकाको सयौं रोपनी भूमि खोलामा परिणत हुने अवस्था देखिएको सञ्चारकर्मी गंगा विष्टले सुनाए। ‘नेपाली भूमि रक्षाका लागि स्थानीय सरकारको प्रयास मात्र पर्याप्त छैन’, स्थलगत अनुगमनबाट फर्किएका विष्टले भने, ‘चीनले आफ्नो क्षेत्रमा पक्की तटबन्ध लगाएको रहेछ।’

नदी नियन्त्रणका लागि बलियो आधार नअपनाउने हो भने नाका सञ्चालनपछि नेपाली भूमि नरहने र व्यापारमा नकारात्मक असर पर्ने प्रदेश सांसद सरिता थापा खड्काले बताइन्। ‘यो विषयमा प्रदेश र संघीय सरकार गम्भीर बन्न जरुरी छ’, उनले भनिन्।

चीनले सीमा क्षेत्रका चाँगा, देन्दाङ बजार दुई वर्षदेखि विस्तार गरिरहेको छ। नदीमा स्काभेटर लगाएर बालुवा झिक्ने र स्पर राखी नदी नेपालको फेमीथांकातर्पm मोडेको स्पष्ट देख्न सकिने भोटखोला–१ का वडाध्यक्ष तेन्छेवी शेर्पाले बताए। अरुणमा तटबन्ध निर्माण गर्न २५ करोडभन्दा बढी बजेट चाहिने र भूमि रक्षाका लागि संघीय सरकारको नजर पुग्नुपर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमको भनाइ छ। स्थलगत अवलोकनपश्चात् जिल्ला सदरमुकाम खाँदबारी आएका उनले अरुणमा तत्काल तटबन्ध निर्माण गर्नुपर्ने बताए। ‘समस्या समाधानका लागि नेपालले करिब १ हजार मिटर तटबन्ध लगाउनुपर्ने देखिन्छ’, उनले भने।

सांसद गौतम, प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, खड्का, पदमकुमारी गुरुङ, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखसहित २७ जना स्थलगत अवलोकनमा गएका थिए। उनीहरूका अनुसार चीनतर्फका चाँगा र देन्दाङ बजारमा भूकम्पपछि पुनर्निर्माणसँगै सहरीकरण तीव्र भएकाले नदीबाट ढुंगा, बालुवा जथाभावी संकलन गरेको पाइएको छ। यसले गर्दा नदी नेपालतर्फ मोडिएको हो। चिनियाँ निर्माण पक्षले नदीमै क्रसर राखेको र डोजर प्रयोग गरी बालुवा तथा ढुंगा निकाल्ने गरेको छ। किमाथांका नाका सदरमुकाम खाँदबारीबाट १ सय ६२ किलोमिटर दूरीमा पर्छ।

सम्बन्धित समाचार