आधुनिक प्रविधि नअपनाउँदा चैनपुरे करुवा संकटमा



 


संखुवासभाको चैनपुरमा उत्पादन हुने चैनपुरे करुवा संकटमा पर्दै गएको छ । करुवा उत्पादनमा आधुनिक प्रविधि नअपनाउँदा करुवा संकटमा परेको हो । चैनपुरे करुवाले जति लोकप्रियता कमायो त्यति नै माग पनि बढेको छ । तर अहिले कामदारसँगै कच्चा पदार्थको अभावका कारणले गर्दा माग धान्नै मुस्किल परेको छ । पछिल्लो समय आधुनिक प्रविधिबाट एकै पटकमा हजारौं करुवा निर्माण हुने प्रविधि भित्रिएको छ । तर परम्परागत विधि अर्थात हाते कलामा करुवा उत्पादन गर्दा समस्या हुने गरेको व्यवसायी देबेन्द्र शाक्यले बताए ।

उनका अनुसार माग धेरै आउँछ, तर माग अनुसार उत्पादन नै गर्न नसकिने अवस्था छ । हातले बनाउनु पर्ने हुँदा आधुनिक प्रविधि अभावका कारण चैनपुरे करुवा उत्पादन संकटमा पर्न थालेको छ ।

काठमाडौं नागवहालबाट झण्डै डेढ शताब्दी पहिले केही शाक्य परिवार संखुवासभाको चैनपुर आएर बसेसँगै चैनपुरमा करुवाको उत्पादन सुरु भएको स्थानीयको भनाई छ । परम्परागत शैली र सीपको प्रयोग गरी काँसको धातुबाट बनाइने यो करुवाको प्रयोग सामान्यतयाः पानी पिउनका लागि मात्र प्रयोग हुने गरेको थियो । तर कलात्मक शैलीमा निर्माण गरिएको यहाँको करुवा अहिले घरमा सजावटको लागि पनि प्रयोग हुन थालेको छ ।

संखुवासभाबाट माया चिनोको रुपमा समेत लगिने करुवाको माग उच्च भएको उमेश शाक्यले बताए । उनका अनुसार झण्डै एक दशकदेखि चैनपुर पुग्ने पाहुना र अतिथिलाई विदाईको क्षणमा संखुवासभाको चिनो स्वरुप कोसेली चैनपुरे करुवा दिने परम्परा नै बसेको छ । तर आजभोलि चैनपुरे करुवा पाउन नै मुस्किल पर्न थालेको शाक्यको भनाई छ ।

‘दुई दशक अघिसम्म तीन दर्जनभन्दा बढी करुवा उत्पादक रहेको चैनपुर क्षेत्रमा कामदार र कच्चा पदार्थ अभावका कारण अहिले उत्पादन गर्नेको संख्या पनि सिमित भएको छ । माग अनुसारको उत्पादन गर्न नसक्दा माग धान्न नै मुस्किल हुने गरेको छ’, शाक्यले भने ।

चैनपुरे करुवा देशमा चलेको दश वर्षे द्वन्द्व तथा पछिल्लो पुस्ताले वास्ता नगर्दा थलिएको सरोकारवालाहरुको भनाई छ । करुवा उत्पादनका लागि सखुवाको काठको गोल चाहिन्छ तर द्वन्द्वताका त्यो उत्पादन सम्भव भएन । त्यसैमाथि गोल उत्पादनका लागि विभिन्न सामुदायिक वनहरुबाट गर्नुपर्ने झन्झटिलो प्रकृयाका कारण पनि यो व्यवसाय थप संकटमा परेको पदम शाक्यले बताए । उनका अनुसार कालीगढ अभाव, दक्ष कामदारको अभावका कारण करुवा उत्पादनमा समस्या थपिएको हो । चैनपुरे करुवालाई पहिलेकै अवस्थामा फर्काउन कच्चा पदार्थको सहजता, प्रविधि र सीपको विकास गर्न तर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

चैनपुर करुवाको उत्पादन बढाउनमा दक्ष जनशक्ति बढाउनु पर्ने र आवश्यक कच्चा पदार्थ संकलन गर्नका लागि सामुदायिक वनले सहजता अपनाउनु पर्ने स्थानीयहरुको भनाई छ ।

स्थानीय सरकारले समेत संखुवासभाको शानको रुपमा चिनिएको चैनपुरे करुवाको उत्पादन बढाउनका लागि तत्परता देखाउन आवश्यक देखिएको सरोकारवालाहरुको भनाई छ । एक शताब्दी अघिदेखि ख्याति कमाउँदै आएको चैनपुरे करुवाको शान यतिबेला भने अस्ताउँदो अवस्थामा पुगेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।

सम्बन्धित समाचार