जलवायु परिवर्तनमा नेपाल निर्दोष छ : राष्ट्रपति भण्डारी



काठमाडौं मंसिर १८, राष्ट्रपति विद्यादेवी भण्डारीले पेरिस सम्झौताको प्रभावकारी र जवाफदेही पूर्ण कार्यान्वयनको सही बाटो पहिल्याउन विश्व समुदाय सफल हुनेमा विश्वस्त रहेको बताउनुभएको छ । पोल्याण्डमा आयोजित जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको २४ औँ सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले न्युन कार्बन उत्सर्जन गर्ने नेपाल जलवायु परिवर्तनको दुष्प्रभावको मारमा परेको प्रति सचेत गराउनुभयो ।

हालै सार्वजनिक गरिएको आईपीसीसीको विशेष प्रतिवेदनले तय गरेको १ दशमलब ५ डिग्री सेल्सियस तापक्रम स्थिर राख्ने थ्रेसहोल्ड भित्रै कार्बन उत्सर्जनलाई सीमित गर्न अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रपति भण्डारीको आग्रह थियो । नेपाल जस्ता मुलुकले नगरेको नबिगारेको कसुरको सजाय भोग्नु परेको बताउदै निर्दोषहरू माथि अन्याय हुन नदिन विश्व समुदाय समक्ष उहाँले आव्हान गर्नु भएको छ । उच्च पर्वतका हिउँ पग्लदै गएको तथा सेता हिमाल काला र फुश्रो बनेको राष्ट्रपतिले बताउनुभयो ।
हिमताल विष्फोटनको खतरा बढ्दा, नदीका जलाधार प्रणाली प्रभावित हुँदा हिम पहिरो, बाढी पहिरो र खडेरीले राष्ट्रिय आयको ठुलो हिस्सा प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या समाधानमा खर्चनुपर्ने चुनौती रहेको राष्ट्रपति भण्डारीले जोड दिनुभएको छ । विश्वको तापक्रम बृद्धिलाई कम गर्न सघाउन पुर्‍याउन नेपालका हिम श्रृंखला फुश्रो हुँदै जानु प्रति राष्ट्रपति भण्डारीले राष्ट्रसंघीय फोरममा चिन्ता ब्यक्त गर्नुभएको हो । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत सहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै पोल्याण्ड जानुभएकी राष्ट्रपति भण्डारी बिहीबार काठमाडौं फर्कनु हुनेछ ।

सम्बन्धित समाचार