भोजपुर नगरपालिकाको १ नम्बर वडा उज्यालो वडा घोषित



भोजपुर। भोजपुर नगरपालिकाको वडा नं १ लाई उज्यालो वडा घोषणा गरिएको छ । भोजपुर नगरपालिका वडा नम्बर १ बाम्राङका वडाध्यक्ष विष्णु भुजेल आफैँ बिजुलीको पोल बोक्न खटिएर वडालाई उज्यालो बनाउन सफल भएको वडाबासी बताउँछन् ।

अध्यक्ष भुजेलको अगुवाइमा वडाका ३ सय ३२ घरमा विद्युत सेवा पुर्याएर उज्यालो वडा घोषणा गरिएको हो । दुर्गम ठाउँमा रहेको वडामा केन्द्रीय प्रशारण लाइन जोडिएपछि एक कार्यक्रमका बीच उज्यालो वडा घोषणा गरिएको हो ।

अध्यक्ष भुजेल आफू निर्वाचित भएदेखि नै वडाको विकासमा लागि परेको बताउँछन् । उनले आफ्नो वडा रहेका विद्यालयको स्तरोन्नतिदेखि सबै वडामा सडकको पहुँच पुर्याउने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् । आफ्ना वडाका जनताको आर्थिक समृद्धिका लागि सरोकारवाला निकायसंग सहकार्य गरेर विद्युत बिस्तार गर्न सफल भएको उनले बताए ।

नेपाल विद्युत प्राधिकरण भोजपुर केन्द्रको सहयोगमा वडालाई उज्यालो वडा घोषणा गरिएको हो । निर्वाचित भएर आएपछि वडाले पहिलो प्राथमिकता विद्युतीकरणलाई दिएकाले आफूले योजना बनाएर काम गरेको भोजपुर वितरण केन्द्रका प्रमुख रामआशिष साहले बताए ।

वडा कार्यालयको १५ लाखको लगानीमा शुरु भएकोे यो कामको वडावासीले पनि प्रशंसा गरेका छन् ।

सम्बन्धित समाचार