गाउँपालिका केन्द्र सार्न मतदान



प्यूठान : झिमरुक गाउँपालिका मच्छि प्यूठानको केन्द्र सार्नका लागि मतदान नै गराइयो । शनिबार बसेको विशेष गाउँसभामा दुईतिहाई मतले वडा नम्बर ४ स्थित ओखरकोटको भेउतेमा गापा केन्द्र बनाइएको हो ।

भेउतेको पक्षमा २८ र वडा नम्बर ७ स्थित तुषारा पिडाल्नेका लागि ४ मत खसेको थियो । गाउँपालिका अध्यक्ष तिलक जिसीका अनुसार ४२ मत खसेमा एक मत बदर भएको थियो । ९ जना मतदाताले भने भोट हालेनन् ।

सहमतिको पहलबाट टुंगोमा पुग्न नसकेपछि गाउँपालिका केन्द्रको लागि मतदान गराइएको हो । मतदानबाट टुंगिएको केन्द्र मच्छि–बांगेफेदी–पुर्कोटदह(गुल्मी) सडक खण्ड नजिकै पर्छ । भेउतेमा केन्द्र राखिने भएपछि यहाँका पाँचजना स्थानीयले गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि साढे ९ रोपनी क्षेत्रफलको जग्गा निःशुल्क दिने घोषणा गरेका छन् ।

निःशुल्क प्राप्त भएको जग्गालाई छिट्टै गाउँपालिकाको नाममा पास गर्ने प्रक्रिया अघि बढाइने अध्यक्ष जिसीले बताए । पाँचवर्षे कार्यकालभित्रै भवन निर्माणलाई पूर्णता दिनेगरी योजना अघि बढाउने सोचमा रहेको उनले बताए । भाडामै संचालित गाउँपालिका कार्यालयमा दैनिक प्रशासनिक काम गर्न समस्या हुँदै आएको कर्मचारीहरु बताउँछन् । साँघुरो कोठामा दैनिक कार्यसम्पादन भइरहेको उनीहरुको गुनासो छ । गाउँपालिकाले भने भवन निर्माणको मापदण्ड अनुसार नेपाल सरकारसँग बजेट माग गर्ने जनाएको छ ।

सम्बन्धित समाचार