पहिलो चरणमा संखुवासभामा पनि राष्ट्रिय परिचय पत्र बाँडिने



मंसिर ३ गतेदेखि वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको पहिलो चरणमा संखुवासभामा पनि बाँडिने भएको छ । विराटनगरमा आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकण विभागले पहिलो चरणमा प्रदेश १ का संखुवासभा र झापामा परिचय पत्र वितरण गरिने जानकारी गराएको हो ।

यस सम्बन्धी जिल्ला प्रसासन कार्यालय संखुवासभाले पुष १३ गते जिल्लाका सरोकारवालाहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । सङ्खुवासभा जिल्लामा ९५ हजार ५४७ जनालाई सो परिचयपत्र वितरण गर्ने लक्ष्य लिएको छ । यस आर्थिक बर्षमा सात वटै प्रदेशको १५ वटा जिल्लामा वितरण हुने भएको हो । दोस्रो चरणमा हरेक प्रदेशका ३ जिल्लामा परिचयपत्र वितरण गरिने भएको छ । प्रदेश २ को सप्तरी र महोत्तरी, प्रदेश ३ को चितवन, ललितपुर र रसुवा, गण्डकी प्रदेशको स्याङजा र तनहुँ, प्रदेश ५ को कपिलवस्तु र गुल्मी, कर्णाली प्रदेशको सल्यान र जुम्ला तथा सुदूरपश्चिम प्रदेशको अछाम र कञ्चरपुरमा यसै आर्थिक बर्ष भित्र परिचयपत्र वितरण गरिने विभागले जनाएको छ ।

कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचार र अपराध नियन्त्रणका लागि परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । १ नम्बरमा छनोट भएका जिल्लामा तोकिएको समयमै परिचयपत्र वितरण कार्य सम्पन्न गर्न उनले आग्रहसमेत गरे । प्रदेश १ का जिल्लामा परिचय पत्र वितरणका लागि प्रदेश सरकरले सहयोगी भूमिका खेल्ने उनको भनाइ छ । विभागले यसअघि पाँचथरमा एकलाख १० हजार र सिंहदरबारका ७ हजार कर्मचारी गरी एकलाख १७ हजार जनालाई परिचयपत्र वितरण गरिसकेको छ ।

विभागले यस आर्थिक बर्षभित्र ७ वटै प्रदेशका १५ वटा जिल्लाका १६ वर्षभन्दा माथिका ३५ लाख २३ हजार ६९८ जनालाई परिचयपत्र वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय परिचयपत्रमा जैविक तथा वैयक्तिक विवरणसहितको विद्युतीय चिप एवं सुरक्षण हुनेछ । यो सबै प्रकारका बैंकिङ तथा प्रशासनिक कामका लागि प्रयोग गर्न सकिने विभागले जनाएको छ ।

सम्बन्धित समाचार