कांग्रेसले ७६ वटा जिल्लामा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै



काठमाडौं पुस १६, । नेपाली कांग्रेसले ७६ वटा जिल्लामा ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । स्याङ्जामा भने जिल्ला सभापति कमल पङ्गेनीको निधन भएको एक वर्ष नपुगेकाले कुनै पनि कार्यक्रम नगर्ने कांग्रेसले जनाएको छ । काठमाडौं जिल्ला समितिको आयोजनामा कांग्रेसले विहान ११ बजे बिशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा सभापति शेरबहादुर देउवासहितका नेताहरु सहभागी हुने कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो । विपी कोइरालासहित नेपाली कांग्रेसका नेताहरु मेलमिलापको नीति लिएर भारतबाट स्वदेश फर्किएको आज ४२ वर्ष पूरा भएको छ । आठ वर्षको भारत प्रवासपछि २०३३ साल पुस १६ गते कांग्रेस नेताहरु विपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाई, शैलजा आचार्य, खुमबहादुर खड्का लगायतका नेता राष्ट्रिय एकता र मेलमिलापको नारा लिएर स्वदेश फर्कनु भएको थियो । कांग्रेसले सोही दिनको सम्झनामा पुष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने गरेको हो ।

सम्बन्धित समाचार