अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त



काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो ।

नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो ।

साथै छानविन समिति बनाएको थियो । राजदूतका पूर्वसवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत लक्की शेर्पा र उनका श्रीमान न्वाङ्ग सोनाम शेर्पा मानव बेचबिखनमा संलग्न रहेको गम्भीर आरोप लगाएका थिए । राजदूत शेर्पाले भने यो दाबी खण्डन गरेकी थिइन् ।

पैसा उठाइएका व्यक्तिहरु अस्ट्रेलिया आउन नसकेपछि राजदूत लक्की र उनका श्रीमानले रकम फिर्ता नदिई उल्टै आफू र आफ्नी श्रीमतीलाई फसाएको वाङछुले आरोप लगाएका छन् ।

मन्त्रिपरिषद् बैठकले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई पनि हटाएको छ । मन्त्रिपरिषदले तीन वर्षे कार्यकालको एन ओ एम पास गरी रेग्मीलाई हटाएको र रिक्त पदमा गणेश अधिकारीलाई नियुक्त गरिएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार