सङ्खुवासभाका यी ६ स्थानीय तह अति दुर्गममा



सङ्खुवासभा । सङ्खुवासभाका ६ वटा स्थानीय तह अति नै दुर्गममा रहेका छन् । जिल्लाका १० वटा स्थानीय तहमध्ये ६ वटा स्थानीय तहलाई सरकारले अति नै दुर्गममा वर्गीकरण गरेको हो ।

सरकारले हाल स्थानीय तहलाई वर्गीकरण गर्ने क्रममा प्रकाशित प्रारम्भिक प्रतिवेदनमा यस्तो देखिएको हो । सरकारको वर्गीकरण अनुसार सङ्खुवासभाको पाँचखपन नगरपालिका, चिचिला गाउँपालिका, भोटखोला गाउँपालिका, मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र सिलिचोङ गाउँपालिका अति नै दुर्गममा परेका छन् ।

सरकारको प्रारम्भिक प्रतिवेदनमा जिल्लाका दुई स्थानीय तह दुर्गममा परेका छन भने मध्यममा पनि दुई स्थानीय तह परेका छन् । दुर्गममा मादी नगरपालिका र धर्मदेवी नगरपालिका परेका छन् । मध्यम वर्गमा खाँदबारी नगरपालिका र चैनपुर नगरपालिका परेका छन् ।
सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई वर्गीकरण गर्ने काम अन्तिम चरणमा पु¥याएको छ । राज्य पुनर्संरचनापछि पहिलो पटक स्थानीय तहको प्रशासनिक वर्गीकरण हुन लागेको हो ।

दुर्गममा परेका सङ्खुवासभाका सबै स्थानीय तहहरूमा अझै पनि बाटो, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार समान छैन । भौगोलिक अवस्था पनि एकनासको छैन ।
स्थानीय तहको राय सुझावलाई समेत समेटेर परिमार्जनसहित सरकारले अन्तिम प्रतिवेदन तयार पार्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए । उनका अनुसार स्थानीय तहको यातायातको सुविधा, प्रदेश राजधानीदेखिको दूरी, जिल्ला सदरमुकामदेखिको दूरी, स्थानीय तहमा उपलब्ध शिक्षा, स्वास्थ्य सेवा, दूरसञ्चारको सेवालाई लिएर विवरण तयार पारेको बताइएको छ ।

त्यस्तै, विद्युत सेवाको पहुँच र नियमितता, मानव विकास सूचकाङ्क, भौगोलिक अवस्थिति र स्थानीय तहको स्तरलाई आधार मानेर विवरण तयार पारेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीका अनुसार स्थानीय तह कार्यान्वयनमा आएपछि नाम, सीमा, संरचना हेरफेर भएकाले नयाँ वर्गीकरण गर्न लागिएको हो ।

सरकारले सबै स्थानीय तहलाई ४ वर्गमा बाँडेको छ । अति नै दुर्गमलाई क, दुर्गमलाई ख, मध्यमलाई ग र सुगमलाई घ वर्गमा राखिएको छ । प्रारम्भिक प्रतिवेदनमा १ सय ६२ अति दुर्गम, २ सय १८ दुर्गम, २ सय ७५ मध्यम र ९८ सुगम वर्गमा परेका छन् । यो वर्गीकरणमा सबैभन्दा बढी २ सय ७५ स्थानीय तह मध्यम अर्थात् ‘ग’ वर्गमा परेका छन् ।

सम्बन्धित समाचार