मन्त्रीद्वारा कुटिएका सचिव अस्पताल भर्ना




जनकपुरधाम । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कुटपीट गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा अस्पताल भर्ना भएका छन् । सचिव झा आइतबार राति नै जनकपुरस्थित केयर नर्सिङ होममा उपचारको लागि भर्ना भएका हुन् ।

सचिव झालाई आइतबार दिउँसो मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाइ कुटपीट गरेको झाको आरोप छ । कुटपिटबाट घाइते भएकाले अस्पताल भर्ना गरिएको झाको परिवारले जनाएको छ । झाको मुख सुन्निएको, दाँया हातमा चोट लागेको र कम्मर दुखेका कारण अस्पताल भर्ना भएको झाले बताएका छन् । श्रीमती अनामिकाले झाको अस्पतालको शैय्यामा उपचार गराइरहेको तस्वीर फेसबुकमा राखेकी छन् ।

आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपर्दा उद्योग, पयर्टन, वन तथा वातावरण मन्त्रालयका सचिव झालाई मन्त्री यादवले आफ्नो कार्यकक्षमै बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपिट गरेका थिए ।

त्यस्तै प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजना मन्त्रीले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानबिन सुरु भएको छ । आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु गरेको हो ।

सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसंग बुझ्ने काम सुरु गर्ने टोलीका सदस्यसमेत रहेका प्रदेश २ का मुख्यसचिव दीपक सुवेदीले बताए ।

सम्बन्धित समाचार