बिजुली बलेपछि चिचिलावासीमा खुसियाली



संखुवासभा । चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्बु शेर्पा बिजुली बलेपछि दंग छन् । शेर्पा मात्र होईन, चिचिला गाउँपालिकावासी नै यतिबेला हर्षित छन् ।

धिपधिपे टुकी र सोलारको मधुरो बत्तीमा रात काट्दै आएका शेर्पाले केन्द्रीय प्रसारण लाइन बाल्न पाएका छन् । सदरमुकाम खाँदबारीमा बिजुली बलेको तीन दशकपछि चिचिलामा विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगेको हो । खाँदबारी र चिचिलाको दूरी खासै नभए पनि दुर्गम भएकाले बिजुली पुगेको थिएन । ‘हामीले निर्वाचित भएर आएपछि पहिलो प्राथमिकता बिजुली बाल्ने राख्यौं,’ उनले भने, ‘झन्डै डेढ वर्षपछि बाल्न पाउँदा खुसी छौं ।’ चिचिलामा बिजुली बलेपछि ३ सय परिवार उज्यालोमा बसिरहेका छन् ।

‘पहिले मट्टितेल र सोलारको मधुरो उज्यालो हुन्थ्यो,’ उनले भने, ‘सबै गाउँलेले हिटर बाल्न थालेका छन् ।’ चिचिला जाडो र गर्मी दुबै मौसममा चिसो हुने बजार हो । अहिले सबैको घरघरमा फ्रिज, हिटर र खाना पकाउने राइस कुकुर छन् । ‘सोलारको जति ठूलो व्याट्री र पाता राखे पनि खाना पकाउन सक्ने अवस्था भएन, उनले भने, ‘चिसो ठाउँ त्यसमा पनि घाम नलाग्दा समस्या हुँदै आएको थियो । बिजुली नहुँदा गाउँपालिकाको काम समेत प्रभावित भएको थियो अहिले सहज भएको छ ।’

‘बिजुली बलेपछि स्थानीय बासिन्दा रातभर जाग्राम बसेर नाचगान गरेको राजेन्द्र घलेले बताए । ‘पहिलोपटक बिजुली बाल्न पाउँदा हर्षित भयौं,’ उनले भने, ‘सदरमुकाम जाँदामात्रै केन्द्रीय प्रसारणको बिजुली देख्ने गरेका थियौं ।’ विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले केन्द्रीय प्रसारण लाइन वितरणलाई तीव्रता दिएको जनायो । विद्युत् प्राधिकरण खाँदबारीले यसै यसै वर्षभित्र १० स्थानीय तहमध्ये नौवटा स्थानीय तहमा विद्युत् बाल्ने प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख धु्रव अधिकारीले बताए ।

‘विद्युत् नपुगेका चैनपुर नगरपालिका, चिचिला, सभापोखरी, मकालु र सिलिचोङ गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइनको विस्तार धमाधम भइरहेको छ,’ अधिकारीले भने, ‘चैनपुर नगरपालिका १ को गुफा, सुकेबजार तथा चिचिला गाउँपालिकाको दिदिङ, डाँडागाउँ र मत्स्यपोखरीका ग्रामीण भेगमा विद्युत् विस्तार गरी बाल्न समेत सुरु भइसकेको छ ।’

अन्धकारमा बस्दै आएका ग्रामीण भेगका स्थानीय वर्षौंदेखिको सपना साकार भएकामा हर्षित भएका छन्, उनले भने, बिजुली आएपछि स्थानीय बासिन्दाले खाना पकाउन, रेडियो सुन्न, टिभी हेर्न, मोबाइल चार्ज गर्न सहज भएको छ । विगतमा स्थानीयस्तरमा पेल्ट्रिक सेटबाट उत्पादित बिजुलीको प्रयोग गर्दा भरपर्दो विद्युत् नभएकाले मोबाइल चार्ज गर्नसमेत समस्या हुने गरेको उनको भनाइ छ । २०७२ सालबाट विद्युत् विस्तार सुरु गरिएको हो । केन्द्रीय प्रसारण लाइन जोडेपछि २४ सै घण्टा बिजुलीबाल्न पाएपछि स्थानीयवासी खुसी भएको उनले बताए ।
कान्तिपुर डेली डटकमबाट

सम्बन्धित समाचार