सुनसरीमा बलात्कार गरि हत्या गरेका दम्पतीलाई जन्मकैद



सुनसरी । १३ वर्षीया बालिका अनुसा राईको बलात्कारपछि हत्या घटनामा पुर्पक्षका लागि थुनामा रहेका धरान–१६, पुन्यमार्गका बलिमान राई र उनकी श्रीमती पदमकुमारी राईलाई जन्मकैदको सजाय सुनाइएको छ ।

धर्मपुत्री बनाएर राखिएकी बालिका अनुसाको २०७३ फागुन १६ गते बलिमानको घरमै बलात्कारपछि हत्या भएपछि बलिमान दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको थियो । हत्याको २२ महिनापछि सोमबार सुनसरी जिल्ला अदालतका न्यायाधीश खिमनन्द भुसालको इजलासले उनीहरुलाई जन्मकैदको फैसला सुनाएको हो । पीडित पक्षको तर्फबाट जिल्ला न्यायाधिवक्ता गोकुल निरौला, सहन्यायाधिवक्ता सुदर्शन निरौला, अधिवक्ता मानबहादुर रुम्दाली, शिवराज चौहान र दर्शन राईले बहस गरेका थिए ।

पीडकका तर्फबाट अधिवक्ता मोहन कोइराला थिए । २०७३ चैत १४ गते जिल्ला अदालत सुनसरीले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थिए । त्यसपछि राई दम्पती थुनामै रहँदैआएका थिए ।

आर्थिक अवस्था नाजुक भएका धरान–१३ का जीतबहादुर राईले उनलाई छोरी अनुसालाई पढाउने भने पनि धर्मपुत्री बनाउन दिएका थिए । बलात्कारपछि हत्या गरिएकी अनुसाको छिमेकीलाई समेत थाहा नदिई दाहसंस्कार गर्न लागिएपछि स्थानीयहरुले विष खुवाएर हत्या गरेको आशंका गर्दै घटना सार्वजनिक गरेका थिए ।

घटना लगत्तै प्रहरीले गम्भीरता नदेखाएको भन्दै स्थानीयहरुले आन्दोलन गरेका थिए । आन्दोलनकारीले बलिमानको घर तोडफोड गरेपछि प्रहरीले अश्रुग्याँस समेत प्रहार गर्नुपरेको थियो ।

सम्बन्धित समाचार