प्रदेश एकबाट श्रम स्वीकृति अनिश्‍चित



विराटनगर । श्रम कार्यालय विराटनगरमा कार्यालय प्रमुख नहुँदा कार्यालयले दिँदै आएको सेवा प्रभावित भएको छ। कार्यालय प्रमुख र कर्मचारीको सरुवा विवादले वैदेशिक रोजगारीमा जान यसै कार्यालयमार्फत दिने भनिएको श्रम स्वीकृति अनिश्चित बनेको छ।

वैदेशिक रोजगारका सेवा विकेन्द्रित गर्न सरकारले सातवटै प्रदेशबाट सेवा दिने गरी तयारी गरेअनुसार पुस १५ गतेबाट विराटनगरबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने तयारी भएको थियो। तर, कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेल र निमित्त प्रमुख मणिनाथ गोपको सरुवाका कारणले श्रम स्वीकृतिको काम पुस बित्दा पनि हुन सकेको छैन।

वैदेशिक रोजगार विभागले काठमाडौं बाहिर पहिलोपटक विराटनगरबाट श्रम स्वीकृत दिने कार्यको थालनी गर्ने तयारी गरेको थियो। प्राविधिक कठिनाइका कारण कार्यक्रम लम्बिएको कार्यालयका अधिकृत ताम्रराज काफ्लेले बताए। औपचारिक रूपमा पुस १५ गतेदेखि यो सेवा दिने भनिए पनि तत्काल कहिलेबाट सुरु हुने भने निश्चित नभएको उनले बताए। केन्द्रबाट कर्मचारी र मेसिनरी सामग्री आए लगत्तै काम सुरु हुने उनको भनाइ छ।

उनले श्रम अधिकृत सञ्जेलको सरुवा भएपछि निमित्तको भएर आएका मणिनाथ गोपको समेत सरुवा भएकाले सेवा प्रभावित भएको बताए। दुवै जनाको सरुवा भएपछि हाल कार्यालय प्रमुखविहीन भएको छ। ‘ कार्यालयमा दैनिक प्रशासकीय काम काज मात्र हुँदैछ’, उनले भने, ‘जिम्मेवारी नभएका कारण आर्थिक र महत्त्वपूर्ण प्रशासनिक निर्णय हुँदैन।’ नियमअनुसार आर्थिक र महत्त्पूर्ण प्रशासनिक निर्णय गर्ने अधिकार कार्यालय प्रमुखको मात्र रहने उनको भनाइ छ।

एक दर्जनभन्दा बढी मजदुर र ट्रेडयुनिय सम्बन्धित उजुरी कार्यालयमा आएको भए पनि प्रमुख नभएकाले निर्णय नभएको काफ्लेले बताए। उनका अनुसार कार्यालयले दिने भुक्तानीसमेत रोकिएको छ। मजदुरका पारि श्रमिक सम्बन्धी मुद्दाको निर्णय हुन सकेको छैन। ताम्रराज काफ्ले र सविता दहाल गरेर श्रम कार्यालयमा दुई जना अधिकृत छन्।
कार्यालयले श्रमिक र रोजगारदाता बीचको विवाद पनि हेर्दै आएको छ। कार्यालयबाट श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ लागू गर्नुका साथै ट्रेड युनियन नवीकरण र दर्ता, श्रमिक आपूूर्ति गरिने कम्पनीलाई इजाजत दिनेलगायत सेवा दिने गरिएको छ। तर, समान्य रूपमा परेको उजुरी उपर कारवाही बढाए पनि निर्णय गर्ने अधिकार प्रमुखलाई भएकाले प्रमुख विहीनताले समस्या उत्पन्न भएको काफ्लेले बताए।

मन्त्रालयले पुस १५ देखि बुटवल र जनकपुरबाट सेवा सुरु गरिसकेको छ। वरिष्ठ श्रम अधिकृत सञ्जेलको सरुवा भएपछि कार्यालयमा सरुवा विवादले उग्ररुप लिएको थियो। गत असोज २५ गते श्रम कार्यालय विराटनगरको प्रमुख बनेर आएका उनले भ्रष्ट कर्मचारीले मिलेमतो गरी आफ्नो सरुवा गराएको भन्दै पत्रकार सम्मेलन गरेका थिए। सञ्जेलले गोपमाथि छानबिन गर्नुपर्ने माग गर्दे आफूसँग साइकल नभएको तर सहायकसँग कार कसरी आयो भन्दै प्रश्न गर्दा निकै ठूलो विवाद निम्तिएको थियो। त्यसलगत्तै गोपले समेत पत्रकार सम्मेलन गरी पैतृक सम्पत्तिबाट कार किनेको बताएका थिए।

त्यसपछि सरकारी कार्यालयमा हुँदै आएका विभिन्न किसिमका भ्रष्टाचारको विरोध गर्दै काम गरिरहेका सञ्जेलको कार्यकक्षको टेबल कुर्सी नै हटाइएको थियो। यसअघि वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचल कार्यालयले मात्रै श्रम स्वीकृति दिने गरेको थियोे। प्रदेश कार्यालयबाटै श्रम स्वीकृति दिनुका साथै पीडितको उजुरी लिने र अनुसन्धान गरी पीडकलाई कारबाही गर्ने प्रावधानले वैदेशिक रोजगारमा जाने युवा उत्साहित बनेका छन्।

सम्बन्धित समाचार