सिलिचोङ उज्यालो अभियान: चालु आर्थिक बर्षमा मात्र डेढ करोड बढी लगानी




सङ्खुवासभा । जिल्लाकै अति दुर्गम सिलिचोङ गाउँपालिकाले विद्युतको शिर्र्षकमा यस आर्थिक बर्षमा मात्र एक करोड ५३ लाख बजेट विनियोजन गरेको छ । गाउँपालिका, वडा पालिका र स्थानीय विकास पुर्वाधार साझेदारी कार्यक्रमबाट उक्त रकम विनियोजिन गरिएको हो ।

यस आर्थिक बर्षमा विद्युत विस्तार तथा ब्यवस्थापनको शिर्षकमा गाउँपालिकाबाट ८३ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस मध्ये सिसुवाखोला जलविद्युत आयोजनाको लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, वडा नम्बर १ सिसुवाखोलामा निर्माणाधिन अवस्थामा रहेको चटेक्मा लघु जलविद्युतको लागि पनि २० लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस बाहेक गाउँपालिकाको वडा नम्बर ४ मांतेवा र ५ नम्बर वडा याफुमा विद्युत विस्तारको लागि १५/१५ लाख रुपैयाँ विनियोजन गरेको हो । हाल चालु रहेको खोङ्लोवा खोला लघु जलविद्युत ब्यवस्थापन (मर्मत)को लागि पनि गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेहो छ ।

यस आर्थिक बर्षमा वडापालिकाले पनि विद्युतलाई प्राथमिकतामा राखेको छ । चालु आर्थिक बर्षमा वडा नम्बर १ सिसुवाखोलाले चटेक्मा लघु जलविद्युतको शिर्षकमा २० लाख रुपैयाँ विनियोजन गरेको छ । गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ सहित चटेक्माको लागि यस आर्थिक बर्षमा ४० लाख रुपैयाँ लगानी गरिएको हो ।

त्यस्तै, वडा नम्बर २ बालाले पनि सिसुवाखोला लघु जलविद्युत आयोजनाको स्तरउन्नतीको लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । लघु जलविद्युत आयोजनाको लागि पनि गाउँपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ सहित ४० लाख रुपैयाँ विनियोजन गरिएको हो । उक्त रकमले विद्युत नपुगेको टोलहरुमा विद्युत विस्तार गर्ने वडाको लक्ष्य छ ।

वडा नम्बर ३ ले विद्युत पुराउन असम्भव रहेका टोलहरु सिकिदिम र खुंवाको लागि ४ लाख ५० हजार रुपैयाँ बराबरको सोलार सेट वितरण गर्ने गरि रकम विनियोजन गरेको छ । उक्त रकमले सोलार खरिद गरेर निशुल्क वितरण गर्ने गाउँपालिकाले योजना बनाएको हो । त्यस्तै, वडा नम्बर ३ को पांतिमा पेल्टिक सेट मर्मतको लागि पनि ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

हालसम्म वडा नम्बर ४ मांतेवामा जलविद्युत विस्तार गरिएको छैन । यहाँ चालु आर्थिक वर्ष भित्र नै विद्युत विस्तार गर्नको लागि वडा नम्बर ४ ले ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै, स्थानीय पुर्वाधार विकास साझेदारी कार्यक्रमबाट प्राप्त भएको २३ लाख रुपैयाँ पनि यहि वडामा विद्युत विस्तार गर्ने गरि विनियोजन गरिएको छ । यस वडामा विद्युत विस्तारको लागि गाउँपालिकाले छुटाएको १५ लाख रुपैयाँ सहित जम्मा ४५ लाख रुपैयाँ विनियोजन भएको छ ।

वडा नम्बर ५ याफुमा पनि विद्युत विस्तारको लागि वडाले ५ लाख रुपैयाँ विनियोजन गरेको छ । यहाँ पनि गाउँपालिकाले विनियोजन गरेको सहित २० लाख रुपैयाँ विद्युतको शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

सिलिचोङ गाउँपालिकामा ६० किलोवाटको खोङ्लोवा खोला र ९० किलोवाटको सिसुवाखोला लघु विद्युत आयोजना सञ्चालनमा छ । उक्त विद्युतबाट वडा नं. १ को केही भाग सहित २ र ३ नम्बर वडाका नागरिकहरुले उपभोग गर्दै आएका छन् । वडा नम्बर ४ र ५ मा पनि यस बर्ष विद्युत पुराउने लक्ष्य गाउँपालिकाले लिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर राईको भनाई छ । यसै आर्थिक बर्षमा निर्माण कार्य सक्ने गरि वडा नम्बर १ को चटेक्मा खोलाबाट पनि ५८ किलोवाट क्षमताको लघु जलविद्युत आयोजना निर्माणको क्रममा छ ।

सम्बन्धित समाचार