खाँदबारी मेयर कपको उपाधी भोजपुरलाई



सङ्खुवासभा । जिल्लाको खाँदबारीमा सम्पन्न खाँदबारी मेयर कप भलिबल प्रतियोगिताको उपाधी भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकालाई ३–० को सोझो सेटमा हराउँदै षडानन्द नगरपालिकाले उपाधी जितेको हो ।

प्रतियोगिताको विजेता षडानन्द नगरपालिकाले सङ्खुवासभाको मकालु गाउँपालिकालाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो । त्यस्तै, उपविजेता सभापोखरी गाउँपालिकाले सङ्खुवासभाकै पाँचखपन नगरपालिकालाई हराउँदै फाईनलमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको विजेताले तीन वर्षे रनिङ शिल्ड र प्रमाणपत्र सहित नगद एक लाख ३४ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै, उपविजेता टिमले ट्रफी, पदक र प्रमाण पत्र सहित ६७ हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । सेमि फाईनलमा प्रवेश गरेका मकालु गाउँपालिका र पाँचखपन नगरपालिकाले पनि ट्रफी र प्रमाणपत्र सहित जनहि नगद ३३ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको वेष्ट सेटरमा षडानन्द नगरपालिकाको दमन उदास घोषित भएको छन् । त्यस्तै, उत्कृष्ठ खेलाडीको रुपमा षडानन्द नगरपालिकाको प्रदिप श्रेष्ठ, वेष्ट डिफेन्समा पाँचखपनको सन्देश राई र बेस्ट स्पाईकरमा सभापोखरीको भवानी बाह्रकोटी घोषित भएका छन् । प्रतियोगिताको अनुसासित टिमको रुपमा मकालु गाउँपालिकाको टिम घोषित भएको छ । पाँच वटै विधाका उत्कृष्ठ खेलाडी तथा टिमहरुले ट्रफी, र प्रमाणपत्र सहित जनही पाँच हजार रुपैयाँ हात पारेका छन् ।

खाँदबारी नगरपालिकाले आफ्नो स्थापना दिवसको अवसर तथा नगरपालिकाको प्रथम मेयर स्वर्गिय किरण शाक्यको सम्झानामा भलिवल प्रतियोगिता सुरु गरिएको हो । यस बर्षको प्रतियोगितामा सङ्खुवासभा र भोजपुरका गरि १२ टिमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार