मांतेवाः लटरम्म सुन्तला, मनग्य आमदानी



मांतेवाको एक कृषकको बगैचामा फलेको सुन्तला । तस्विरः ध्यान कुलुङ

सङ्खुवासभा । सिलिचोङ गाउँपालिका ४ मांतेवाका शंकरदास मेवाहाङ ३ दशक अघि तिर गाउँबाट सुन्तला बोकेर धरान पुराई पाँच रुपैयाँको सय दाना बेच्नुहुन्थ्यो । यो कार्य उहाँले मात्रै होईन गाउँका अधिकांसले गरेका थिए । यहाँका नागरिकहरु यसरी सुन्तला बेचेर नुन तेलको भारी बोकेर पुनः गाउँ फर्किन्थे ।

तर यो कुरा अहिलेका युवाहरुलाई कथा जस्तो लाग्छ, किनकी अहिले गाउँ मै सबै सुन्तला बिक्री हुन थालेको छ । यो सहजता गाउँमै सडक पुगेकोले सम्भव भएको हो । अहिले मांतेवाको सुन्तला खान र लिन ग्राहकहरु गाउँमै पुग्न थालेका छन् । मांतेवा गाउँको छिमेकी गाउँसम्म पुगेका मानिसहरु सुन्तला खान र लिन कै लागि मांतेवा गाउँ पस्ने गरेका छन् ।

छिमेकी गाउँ ताम्कु पुगेर फर्किने क्रममा मांतेवाको सुन्तला बगानमा भेटिनुभएका खाँदबारी १ का किरण बाबु उदासले मांतेवाको सुन्तला सुनेको भन्दा पनि अझ राम्रो गुणस्तरको पाएको बताउनुभयो । सस्तो मुल्यमा राम्रो गुणस्तरको सुन्तला पाएकोले आफुले पुग्दो किनेर बोकेको उहाँले बताउनुभयो । ‘मांतेवाको सुन्तला राम्रो भन्ने त सुनेको थिए, बगान मै पुग्दा अझ राम्रो लाग्यो’ बगानमा भेटिएका अर्का ग्राहक हरिधन कुलुङले भन्नुभयो ।

सिलिचोङ गाउँपालिकाको वडा नम्बर ४ मांतेवामा गत बर्ष कच्ची सडक पुगेको हो । सडकको माध्ययमबाट टाढा पुराउन नसकेपनि भोजपुरको बम्लीङटार, कुलुङ, सङ्खुवासभाको हेलुवाबेँशी, खाँदबारीसम्म पुराएर सुन्तला बेच्ने गरिन्छ । केहि ब्यापारीहरु गाउँ मै पुगेर पनि सुन्तला ल्याई बेच्ने गरिन्छ ।

मांतेवा गाउँमा ६० भन्दा बढी परिवार सुन्तला खेतीमा संलग्न छन् । विशेष गरि जौलेटोल, मुल गाउँ, बाँझे, सल्लेरी लगायतका टोलहरुमा बढी सुन्तला खेती लगाईएको वडा अध्यक्ष देवेन्द्र राईले बताउनुभयो । गत बर्ष एक परिवारले डेढ लाख रुपैयाँसम्मको सुन्तला विक्रि गरेको वडा अध्यक्ष राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘थोरै बेच्नेले नै ५० हजारसम्मको बेच्छन्, धेरै बेच्नेले डेढ दुई लाख सम्मको सुन्तला बेचेका छन् ।’

केही बर्षदेखि यता तुलनात्मक रुपमा राम्रो मुल्यमा विक्री गर्दै आए पनि अझै बजार ब्यवस्थीत हुनु पर्ने कृषकहरुले धारणा राख्छन् । अघिल्लो बर्षदेखि सुन्तला विक्रि नै नहुने समस्या हटेपनि सुन्तलाले उचित मुल्य पाउन नसकेको उनीहरुको दावी छ । अहिले बोटमा पुग्ने ग्राहकहरुलाई प्रतिगोता ४ रुपैयाँको दरले विक्रि गर्दै आए पनि यो मुल्य सस्तो हुन गएको स्थानीय योगेन्द्र कुलुङको भनाई छ । मांतेवादेखि बुम्लिङ स्थीत अरुण नदिसम्म सडक पुगेपनि सवारी साधन तार्न पुल नभएकोले ठुलो बजारसम्म पुराउन नसकेको उहाँको गुनासो छ । ‘पुल नबनेकोले मान्छेलाई बोकाउन झन्झटिलो हुन्छ, पुल बनेको भए सिधै ठुलो बजारसम्म पुराउन सकिन्थ्यो’, कुलुङले भन्नुभयो ।

पछिल्लो समय केही सुन्तलाहरुमा विभिन्न रोग पनि देखा पर्न थालेकोले अहिलेबाट नै रोकथामको उपाय खोज्न कृषकहरुको माग छ । बजार ब्यवस्थीत गर्नसके थप सुन्तलाको बिरुवा लगाएर सुन्तला उत्पादन क्षेत्र घोषणा गरेर जान सकिने अगुवा कृषकहरुको सुझाव छ ।

सम्बन्धित समाचार