आतंक मच्चाउँने भोजपुरका दुई सहित तीन जना पक्राउ



भोजपुर, १३ असार । प्रहरीले पेस्तोल, त्यसमा प्रयोग हुने गोली र एसएलआरको गोलीसहित ३ जनालाई धरानबाट पक्राउ गरेको छ । बुधबार रातभरि गरेको सर्च अप्रेशनबाट प्रहरीले धरान १५बाट एक जना र धरान ११ बाट २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान १५ का ३९ बर्षीय सरोज गुरुङ र धरान ११ बाट भोजपुरको आमचोक गाउँपालिका ६ वास्तविक ठेगाना भएका २९ बर्षीय विजय राई र भोजपुरकै हतुवागढी गाउँपालिका २ घर भएका सुरेश राई रहेका छन् । उनीहरुको साथबाट लागुऔषध, मुखुण्डो, खुकुरी, लागुऔषध जोख्ने डिजिटल काटालगायत विभिन्न सामान पनि प्रहरीले वरामद गरेको छ ।धरानका डिएसपी ढुण्डीराज न्यौपाने र प्रदेश प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीको सक्रियतामा हतियार भएको सुचना पक्का भएपछि बुधबार राती सरोज गुरुङको धरान १५ स्थित घरमा सर्च गरिएको थियो । त्यसक्रममा उनको कोठाबाट लागुऔषध डाइलेक्स फेला पर्यो ।

फोहोर फाल्ने ठाउँमा रातो झोलामा २ थान पेस्तोल राखिएको भेटिएको त्यसमध्ये एउटा म्यागजिन लोड भएको पनि थियो । यस्तै, उनकोे घरबाट १० थान पेस्तोलको गोली पनि र एसएलआरमा प्रयोग हुने ५ थान गोली भेटिएको थियो ।सानो टिनको बाकसभित्र साना साना पोका बनाएको १० थान, धारिलो खुकुरी २ थान र फलामको नक एक थान फेला परेको प्रहरीले जनाएको छ । यस्तै, उनीहरुको कोठाबाट मुखुण्डो ३ थान, नगद १५ हजार १ सय ३५ र डायसको गोटी पनि प्रहरीले वरामद गरेको छ । प्रहरीले तीनै जनाले प्रयोग गर्ने मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।

सम्बन्धित समाचार