संखुवासभाका तीन उत्कृष्ठ प्रतिभा सम्मानीत



सङ्खुवासभा । सङ्खुवासभा हङ्कङ प्रतिभा पुरस्कार प्रतिष्ठानले सङ्खुवासभाका तीन उत्कृष्ठ प्रतिभाहरुलाई पुरस्कृत गरेको छ । बसन्त पञ्चमीको अवसर पारेर सङ्खुवासभाका प्रतिभाहरुलाई पुरस्कृत गरिएको हो ।

प्रत्यके बर्ष पुरस्कार प्रदान गर्दै आएको प्रतिष्ठानले यस बर्ष गायक उमंग लामा, संगीतकर्मी भविन ढुङ्गाना र धाविका सिर्जना राईलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको हो । गायक लामाले गीत संगीतको माध्ययमबाट जिल्लालाई विश्व सामु परिचित गराएको भन्दै पुरस्कारको लागि छनौट गरिएको थियो । लामाले जल्जले मिल्के, तुम्लिङको टार लगायतका चर्चित गीतहरु गाएर अरुण उपत्यका लगायत सङ्खुवासभाको प्रचारमा सहयोग पुराएको बताईएको छ ।

त्यस्तै, संगीतकर्मी ढुङ्गानाले पनि अन्तराष्ट्रिय विश्व विद्यालयबाट संगीतको विज्ञता हासिल गरेर जिल्लालाई योगदान पुराएकोले पुरस्कारको लागि छनौट गरिएको आयोजकले जनाएको छ । गायक तथा संगीतकार ढुङ्गानाले भारतको ईलाहबाद विश्व विद्यालयबाट सास्त्रीय संगीतमा उच्च अंक सहित ‘मास्टर डिग्री’ गर्नुभएको छ । बहुचर्चित स्टेज कार्यक्रम ‘द भोईस अफ नेपाल’को सल्लाहकारको रुपमा समेत काम गरिसक्नुभएको ढुङ्गानाले दीपनकुमार श्रेष्ठको शब्दमा ‘सङ्खुवासभा राम्रो’ बोलको गीत बजारमा ल्याउनुभएको छ । ढुङ्गानाले काठ्माण्डौ स्थित ललितकला क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएको छ । केही दिनदेखि मौसमको कारण हवाई यातायात अवरुद्ध भएपनि ढुङ्गानाको अनुपस्थितीमा उहाँको आमालाई पुरस्कार हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले पछिल्लो समय राम्रो सम्भावना बोकेकी धाविका सिर्जना राईलाई पनि पुरस्कृत गरेको छ । राईले विभिन्न दुरीका दर्जन बढी म्याराथुन जितिसक्नु भएको छ । त्यस्तै, अघिल्लो महिना नेपाललाई प्रतिनिधीत्व गर्दै हङ्कङमा भएको म्याराथुन प्रतियोगितामा १६ देखि २८ बर्ष उमेर समुहको उपाधी जित्नुभएको थियो । २० बर्षिय सिर्जनाले पनि खेलकुदको माध्ययमबाट जिल्ला र देशलाई नै चिनाउने काममा योगदान दिदै आएको भन्दै पुरस्कार प्रदान गरिएको हो ।

यस बर्ष पुरस्कृत हुनेहरुलाई प्रमाण पत्र, दोसल्ला सहित जनही पन्ध्र हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको हो । प्रतिष्ठानले बर्षेनी उत्कृष्ठ प्रतिभाहरुलाई पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानले हङ्कङमा बस्ने सङ्खुवासभालीहरुले रकम संकलन गरेर स्थापना गरेको अक्ष्यकोषबाट जिल्लालाई प्रतिभाको माध्ययमबाट योगदान दिनेलाई पुरस्कार प्रदान गर्दै आएको हो ।

सम्बन्धित समाचार